‘१२ गाउँ २’को टिजरमा बन्दुक र फाइटमार्फत बिराज र समीरको एक्सन
काठमाडौं । चलचित्र ‘१२ गाउँ २’ टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले आज सार्वजनिक गरेको टिजरमा बिराज भट्ट र समीर भट्टको एक्सन देख्न सकिन्छ ।
अधिकांश समय बिराज र समीरले अकुपाई गरेको टिजरमा कथाभन्दा एक्सनले उच्च प्राथमिकता पाएको छ ।
टिजरमा बन्दुक र फाइटमार्फत एक्सन देखाउने प्रयास गरेको देखिएको छ । एक्सन, फाइट, अपहरण, उद्धार र बदला देखाइएको छ ।
बिराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको सिनेमाको कथा सन्तोष सरकारले लेखेका छन् । छायांकन महेश पौडेलले गरेका छन् ।
सरस्वती भट्टको लगानी रहेको यो सिनेमा आगामी असोज ३० गते दशैँको फूलपातीको अवसर पारेर देशभर प्रदर्शन हुँदैछ ।
सिनेमामा समीर र कृशुसहित निर्देशक बिराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्ट, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णबहादुर गन्धर्व र सुदीर श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ। यसै सिनेमाबाट कृशु शाही (काफिया) र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गरेका छन् ।
सिनेमामा युग भुसाल र डीपी खनालको संगीत, बन्दे प्रसादको सम्पादन, रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य निर्देशन तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
सिनेमाको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन् ।




