‘पेन्सन पट्टा’ले कटायो ६ करोडमाथि ग्रसकलेक्सन

काठमाडौं । चलचित्र ‘पेन्सन पट्टा’ले ६ करोडभन्दा माथि कलेक्न गरेको छ । प्रदर्शनको तेस्रो सातामा पनि आफ्नो बलियो उपस्थिति कायम राखेको सिनेमाले पहिलो सातादेखि नै दर्शकको राम्रो साथ पाउँदै आएको छ ।

चलचित्र विकास बोर्डको बक्सअफिस प्रणाली सिनेपाका अनुसार ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो सातामै ३ करोड ७९ लाख ७६ हजार ७४ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । दोस्रो सातामा पनि राम्रो व्यापारलाई निरन्तरता दिँदै फिल्मले ६ करोडभन्दा बढीको कारोबार गर्न सफल भएको हो ।

भदौ २६ गतेदेखि प्रदर्शनमा आएको सिनेमाले तेस्रो हप्ता पनि १०६ शो खल्ती एपमा पाएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न हलमा फिल्मले राम्रो शो तथा अकुपेन्सी कायम गरिरहेको निर्माण पक्षले जनाएको छ । कतिपय हलमा दर्शकको चाप अझै उत्साहजनक रहेको बताइएको छ ।

पारिवारिक सम्बन्ध, प्रेम, त्याग, जिम्मेवारी र निवृत्त जीवनसँग जोडिएको कथावस्तु फिल्मको मुख्य आकर्षण बनेको छ ।

फिल्मको व्यापार उत्साहजनक बनेपछि निर्माण टोली विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट तथा प्रतिक्रिया लिइरहेको छ ।

माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विजय बराल, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ ।