यस वर्षको सबैभन्दा कम कमाउने चलचित्र बन्यो ‘माया बस्छ कि के हो !’, जम्मा ९२ वटा टिकट बिक्री
काठमाडौं । यस वर्षको हालसम्म कम कमाउने चलचित्र ‘माया बस्छ कि के हो !’ बनेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको सिनेपाः बक्स अफिसको विवरणमा सिनेमाको १० दिनको कमाइ २३ हजार ६ सय ६० रुपैयाँ ग्रस रहेको छ । यो यस वर्ष प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा कम कमाइ हो ।
राजु अधिकारी निर्देशित यो चलचित्रका जम्मा ९२ वटा टिकट बिक्री भएका छन् । दर्शक अभावका कारण पहिलो सातामै धेरै हलबाट फिल्म उत्रिएको थियो । दोस्रो साताबाट देशभरका कुनै हलमा फिल्म लागेको छैन । फिल्मले गरेको कमाइबाट निर्माताको हातमा २ हजार पनि नपर्ने देखिन्छ ।
चलचित्र युरोपेली मुलुकका रमणीय स्थानमा छायांकन गरिएको प्रेमकथामा आधारित ‘माया बस्छ कि के हो’मा सोनाल लामा र कस्मता निरौलाको शीर्ष भूमिका छ । उनीहरू दुवैको यो डेब्यू सिनेमा हो ।
नेपालसहित बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डमा छायांकन गरिएको मौनता श्रेष्ठको लेखन रहेको छ ।
बिनाप्रचारप्रसार हलमा आएको थियो । यसले क्यूएफएक्सलगायत ठूला मल्टिप्लेक्समा शो पाएको थिएन । चलचित्रको निर्माता बहादुर सिंह तामाङ हुन् ।



