‘बाकस’बाट डेब्यू गर्दै मोडल बिक्रम बुढाथोकी
काठमाडौं । नवीन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘बाकस’बाट मोडल बिक्रम बुढाथोकीले अभिनयमा डेब्यू गर्ने भएका छन् ।
बुढाथोकीले पाँच सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । उनले गायक प्रमोद खरेलका दुई सयभन्दा बढी गीतका भिडियोमा पनि सहकार्य गरेका छन् ।
म्युजिक भिडियोमा काम गर्दै आएका बुढाथोकी अब फिल्ममार्फत अभिनय यात्रालाई अघि बढाउने तयारीमा छन् ।
निर्माण पक्षका अनुसार फिल्मका बाँकी कलाकार तथा प्राविधिकको छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसअघि फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोला राज सापकोटा र सुपला सापकोटा अनुबन्ध भइसकेका छन् ।
बाल कलाकारमा रेखा भण्डारी, अविरल चौलागाईं, सनाज चौलागाईं र सगुन खड्का रहनेछन् ।
‘बाकस’को निर्माण सुजिता चौलागाईंले गर्नेछिन् । छत्रबहादुर खड्का सह–निर्माता तथा धीरेन्द्र पन्त ‘धिरु भाइ’ कार्यकारी निर्माता छन् ।
फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ । गीत तथा शब्दमा दीपक शर्मा र निर्देशक पन्तको योगदान रहनेछ ।
मणि तामाङ मुख्य सहायक निर्देशक, किरण दाहाल द्वन्द्व निर्देशक, महेश पौडेल छायाकार र निर्मल न्यौपाने प्रोडक्सन म्यानेजरका रूपमा छन् ।



