फ्राइडे रिलिज : ‘देवी’ र ‘रावायण’ हलमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । तीजको अवसर पारेर आजबाट ‘देवी’ र ‘रावायण’ प्रदर्शनमा आएका हुन् ।

क्राइम थ्रिलर जानरामा निर्माण भएको ‘देवी’का निर्देशक सञ्जोग राई हुन् । सिनेमाको कथा निर्देशक राई र अजय गौतमले लेखेका छन् ।

चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरीक्षा घतानी, विशाल पहारी, निरु खड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सिनेमामा सन्जेन थापाको एक्सन छ ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा सिनेमा ‘देवी’ बनेको हो । यो सिनेमा निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगको सहकार्य गरेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् । जोएल फ्रोमको डिओपी रहेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गरेको छ ।

आजैबाट अर्को चलचित्र ‘रावायण’ पनि प्रदर्शनमा आएको छ । सुदर्शन थापाको निर्देशन रहेको यो चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाललगायत कलाकारको अभिनय छ ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको व्यानरमा बनेको सिनेमाकी निर्माता पूजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माता रहेको सिनेमामा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन छ ।