श्रीमान्-श्रीमतीको झगडादेखि शरीर साटिनेसम्म यस्तो छ ‘परिवार’को टिजर
काठमाडौं । अभिनेता कामेश्वर चौरासियालाई महिलाको र अभिनेत्री लक्ष्मी बर्देवालाई पुरुषको गेटअपमा प्रस्तुत गरिएको पोस्टर सार्वजनिक भएपछि चर्चामा आएको चलचित्र ‘परिवार’को टिजर सार्वजनिक भएको छ ।
टिजर सार्वजनिक भएसँगै चलचित्रको कथावस्तुलाई लिएर दर्शकको चासो थप बढेको छ ।
रे अफ आर्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको टिजरमा सुरुवातमै कामेश्वर र लक्ष्मीबीचको पारिवारिक विवादलाई प्रस्तुत गरिएको छ । उनीहरूबीचको संवादले परिवारको इच्छाविपरीत विवाह गरेका कारण दाम्पत्य जीवनमा समस्या उत्पन्न भएको संकेत गर्छ ।
टिजरमा लक्ष्मीले कामेश्वरलाई, ‘तेरो विश्वासले मेरो परिवारको केही पनि वास्ता नगरीकन म भागेर आएँ के’ भन्दै आफ्नो असन्तुष्टि पोख्छिन् । त्यसको जवाफमा कामेश्वरले ‘लग्जरियस लाइफ चाहिएको थियो भने पीआरवालासँग जानुपथ्र्यो कि तिमी’ भन्दै कटाक्ष गर्छन् ।
यसैबीच, चलचित्रमा छोरीको भूमिकामा देखिएकी पात्रले भगवानसँग आफ्ना बाबुआमाबीच कहिल्यै झगडा नहोस् भनेर गरेको प्रार्थना पनि टिजरमा समेटिएको छ । पारिवारिक सम्बन्ध, दाम्पत्य जीवन र आपसी द्वन्द्वलाई केन्द्रमा राखेर अघि बढेको कथा त्यसपछि भने अचानक रोचक मोडमा पुग्छ ।
सुतेर उठेपछि कामेश्वर र लक्ष्मीले आफ्नै शरीर छाम्दै आश्चर्य व्यक्त गरेको दृश्य टिजरको सबैभन्दा कौतुहलपूर्ण पक्ष बनेको छ । पोस्टरमा देखाइएको उनीहरूको फरक गेटअपसँग जोडिएको यो दृश्यले उनीहरूबीच शरीर साटिएको हो कि कथाले अर्को कुनै रहस्य बोकेको छ ? भन्ने प्रश्न जन्माएको छ।
यसको जवाफ भने चलचित्र प्रदर्शनपछि मात्रै खुल्नेछ। फिल्म कार्तिक १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
शाही फिल्म प्रोडक्सन र विशआई फिल्मस्सँगको सहकार्यमा निर्माण भएको चलचित्रलाई मदन थापाले निर्देशन गरेका हुन् । ‘कहिले श्रीमान्को वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने नारासहित निर्माण भएको चलचित्रमा कामेश्वर र लक्ष्मीसँगै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतका कलाकारको अभिनय छ ।
चलचित्रको कथा तथा लेखन प्रेम थापा र गणेश उपाध्यायले गरेका हुन् । निरज कँडेल डीओपी रहेको चलचित्रमा विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन तथा एनबी महर्जनको एक्सन निर्देशन छ ।
रमेश शाही निर्माता रहेको चलचित्रमा कैलाश रावल कार्यकारी निर्माता तथा आरम्भ रिजाल सह-निर्माता छन् ।




