तेह्रथुमबाट सुरु भयो ‘सुरताल म्युजिकल टुर’, एउटै स्टेजमा प्रमोद, प्रकाश र देबेन्द्र

काठमाडौं । प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लु एउटै स्टेजमा प्रस्तुत भएका छन् । यी तीन कलाकार एउटै मञ्चमा देखिँदा तेह्रथुमको म्याग्लुङमा भव्य सांगीतिक माहोल बनेको छ। हजारौँ दर्शकमाझ तीनै कलाकारले आफ्ना चर्चित गीत प्रस्तुत गर्दा म्याग्लुङको साँझ संगीतमय बनेको हो ।

कार्यक्रममा प्रमोद खरेलले ‘ओइ झुमा, ओइ झुमा’, प्रकाश सपूतले ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ तथा देबेन्द्र बब्लुले ‘मुस्कान बनी ओँठमा आइदेऊ’ लगायतका गीत प्रस्तुत गरे ।

प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड, प्रकाश सपूतको भाका ब्यान्ड र देबेन्द्र बब्लुको फिरन्ते ब्यान्डको विशेष लाइभ प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिए ।

आयोजक प्रशान्त सुनारका अनुसार राति करिब १२ बजेसम्म चलेको कार्यक्रममा १० हजारभन्दा बढी दर्शक सहभागी थिए ।

‘सुरताल म्युजिकल टुर २०८३’ नाम दिइएको यो सांगीतिक यात्रा तेह्रथुमबाट सुरु भएको हो । सातै प्रदेशका १३ वटा सहरमा आयोजना हुने टुरमा प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुसहितको टोलीले लाइभ प्रस्तुति दिनेछ ।