अनमोल केसी स्टारर ‘बाटुलो जून’को टिजरमा के छ ?
काठमाडौं । अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक गरिएको छ । निर्माण ब्यानर सनराइज पिक्चरले चलचित्रको प्रचार अभियानलाई गति दिने उद्देश्यले पहिलो प्रचार सामग्रीका रूपमा टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक टिजरले चलचित्रको कथा र परिवेशको झलक प्रस्तुत गरे पनि यसको सम्पूर्ण कथावस्तु भने खुलाइएको छैन । ‘टिजर’को मूल मर्मअनुसार कथालाई धेरै नखुलाई चलचित्रका केही महत्वपूर्ण र क्यान्डिड दृश्यलाई प्राथमिकता दिइएको छ । टिजरले चलचित्रको समयकाल, पात्रको मनोविज्ञान र प्रेमकथाको संकेत भने गर्छ ।
‘बाटुलो जून’ ३० को दशकको पृष्ठभूमिमा आधारित प्रेमकथामा बनेको चलचित्र हो । चलचित्रले आदर्श प्रेमलाई केन्द्रमा राख्दै तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने शैलीलाई पर्दामा उतार्ने प्रयास गरेको छ ।
अहिलेको प्रविधिमैत्री युग र तीव्र रूपमा बदलिँदो प्रेमको शैलीभन्दा फरक, तत्कालीन समयको प्रेम, सामाजिक सम्बन्ध र भावनात्मक संवेदनालाई चलचित्रले कथाको आधार बनाएको छ ।
चलचित्रको निर्देशन भुवन केसीले गरेका हुन् । यसअघि उनले निर्देशकीय चलचित्र ‘ड्रिम्स’मार्फत उत्तरआधुनिक प्रेमकथालाई पर्दामा प्रस्तुत गरेका थिए । ‘बाटुलो जून’मा भने उनी त्यस समयभन्दा धेरै पछाडि फर्किएका छन्—त्यही दशकतर्फ, जुन समयमा नेपाली चलचित्रमा भुवन केसी स्वयं पर्दामा देखिने लोकप्रिय प्रेमनायकका रूपमा स्थापित थिए ।
त्यसैले ‘बाटुलो जून’ भुवन केसीका लागि एउटा चलचित्र मात्र नभएर उनको आफ्नै सिनेमायी यात्रासँग जोडिएको कथा पनि बनेको छ । आफूले अभिनय गरेका दशकअघिका प्रेमकथाको समय, परिवेश र संवेदनालाई सम्झँदै उनले त्यही समयलाई नयाँ पुस्ताका लागि पर्दामा पुनः सिर्जना गर्ने प्रयास गरेका छन् ।
चलचित्रमा अनमोल केसीले मुख्य भूमिका निर्वाह गरेका छन् भने निर्देशक भुवन केसी पनि महत्वपूर्ण भूमिकामा देखिँदैछन् । ‘बाटुलो जून’बाट प्रिन्सी खतिवडाले चलचित्र क्षेत्रमा डेब्यु गरेकी छन् । त्यस्तै, बेल्जियममा बसोबास गर्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि यही चलचित्रमार्फत अभिनयमा पुनरागमन गरेकी छन् ।
चलचित्रको लेखन सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले गरेका हुन् । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन् भने रोमन बज्राचार्यले पार्श्व संगीत दिएका छन् । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा रहेका छन् ।
‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् भने विवेक थापा सह–निर्माताका रूपमा रहेका छन् ।
‘बाटुलो जून’ कार्तिक २६ गतेबाट प्रदर्शनमा आउनेछ ।


