हङकङमा ‘आ बाट आमा २’ टिमलाई भव्य सम्मान
काठमाडौं । आगामी बडादशैँ (असोज ३०) मा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आ बाट आमा २’ को अन्तिम छायांकनका क्रममा हङकङ पुगेको टिमलाई भव्य सम्मान गरिएको छ ।
हङकङमा सक्रिय खुसी इभेन्ट्सले आयोजना गरेको ‘मिट एन्ड ग्रीट’ कार्यक्रममा निर्देशक चन्द्र पन्त, अभिनेता पल शाह र अभिनेत्री रिश्ता गुरुङलाई सम्मान गरिएको हो ।
गुरुङ संस्कृति तथा परम्पराअनुसार अतिथिहरूलाई फेटा गुथाएर, खादा, पुष्पगुच्छा तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा खुसी इभेन्ट्सका निर्देशक खुसी गुरुङले नेपाली चलचित्रका कलाकार तथा निर्देशकलाई स्वागत र सम्मान गर्न पाउँदा खुसी लागेको बताए ।
सम्मान ग्रहण गर्दै अभिनेता पल शाहले प्रवासमा रहेर पनि नेपाली चलचित्र, भाषा र संस्कृतिप्रति देखाइएको मायाले आफूलाई थप उत्साहित बनाएको बताए । उनले हङकङका दर्शकको आत्मीय साथले अभिनय यात्रामा अझ राम्रो काम गर्न प्रेरणा मिलेको उल्लेख गरे ।
निर्देशक चन्द्र पन्तले हङकङमा प्राप्त आत्मीय सम्मानप्रति खुसी इभेन्ट्स र दर्शकलाई आभार व्यक्त गरे । उनले चलचित्रको आधिकारिक टिजर र पहिलो गीत ‘अचेल किन कान्छी’ दुवैले युट्युबमा ५० लाखभन्दा बढी भ्युज पाएकोमा दर्शकप्रति धन्यवादसमेत व्यक्त गरे ।
‘आ बाट आमा २’ को हङकङ छायांकन सकिएपछि टिम नेपाल फर्किएर अन्तिम पोस्ट प्रोडक्सनमा जुट्नेछ । आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र पारिवारिक विछोड र आमाप्रतिको प्रेमको कथामा आधारित छ ।





