‘परिवार’को दशैं गीत ‘रातो टिका’ सार्वजनिक
काठमाडौं । आगामी कार्तिक १३ गते रिलिज हुने फिल्म ‘परिवार’को दशैं गीत ‘रातो टिका’ सार्वजनिक भएको छ ।
गीतमा बाबुल गिरीको स्वर, शब्द र संगीत छ । बाबुललाई स्वरमा गायिका बबी लिम्बूले साथ दिएकी छन् ।
दशैंको टीका लगाएपछिको रमाइलो माहोललाई प्रस्तुत गरिएको डान्सिङ नम्बरको गीतमा फिल्मका कलाकारहरु कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना, विनिता बस्नेतलगायतको अभिनय छ ।
गीतमा प्रयोग गरिएका लिङ्गे पिङ, चिटिक्क सजाइएका घर, सफा आँगनले गाउँको झल्को दिन्छ ।
रे अफ आर्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्मको यसअघि नै एक फर्स्टलुक र टिजर सार्वजनिक भइसकेको छ । टिजर र फस्टलुकलाई दर्शकले माया दिइरहँदा सार्वजनिक गीतलाई पनि दर्शकले उत्तिकै मनपराउनेमा निर्माण पक्ष ढुक्क छ ।
शाही फिल्म प्रोडक्सन र विशआई फिल्मससँगको सहकार्यमा निर्माण भएको फिल्ममा मदन थापाको निर्देशन छ ।





