दोस्रोपटक भिड्दै दीपक र समीर
काठमाडौं । नेपाली चलचित्र उद्योगमा यसपटकको दशैँ पनि कम रमाइलो हुनेवाला छैन । ब्रान्ड बनाइसकेका सिनेमाहरू सँगै रिलिज हुँदा त्यस्तै कलाकार पनि आमनेसामने हुनेछन् ।
एकै दिन असोज ३१ गते दीपेन्द्र लामाको चलचित्र ‘छ माया छपक्कै २’ र असोज ३० गते विराज भट्टको चलचित्र ‘१२ गाउँ २’ प्रदर्शन हुँदैछन् । यी दुई चलचित्र रिलिज हुँदा भिडन्त हुनेछ दीपकराज गिरी र समीर भट्टको ।
समीर एक्सन स्टार हुन् भने दीपक कमेडी किङ । यी दुबैका चलचित्र यसअघि दर्शकले मन पराइसकेका छन् । ‘छ माया छपक्कै’ र ‘१२ गाउँ’ दुवै सिनेमा उद्योगका सफल चलचित्र हुन् ।
‘छ माया छपक्कै’ र ‘१२ गाउँ’ हिट भएपछि नै यी दुई चलचित्रका सिक्वेल बनेका हुन् । यी दुवै बक्सअफिसका हिट सिनेमा हुन् । दर्शकले एक्सन जनराको ‘१२ गाउँ’ पनि मन पराएका थिए । सोसल सिचुएनल कमेडी ड्रामा ‘छ माया छपक्कै’ पनि मन पराएका थिए ।
दुई वर्ष अघि ‘१२ गाउँ’ दशैँमा रिलिज हुँदा दीपकको ‘छक्का पञ्जा ५’ रिलिज भएको थियो । ‘१२ गाउँ’मा समीर र बिराज मुख्य भूमिकामा थिए । ‘छक्का पञ्जा ५’मा दीपक मुख्य भूमिकामा थिए ।
त्यसैले दीपकराज गिरी र समीर भट्ट दोस्रोपटक भिड्दै छन् । समीरको ‘१२ गाउँ’ले १९ करोड ९२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । दीपकको ‘छक्का पञ्जा ५’ले १५ करोड २० लाख रुपैयाँ ग्रकसलेक्सन गरेको थियो ।
यो वर्ष भने दीपक अर्को ब्रान्ड ‘छ माया छपक्कै’को ब्रान्ड लिएर समीर र बिराजसँग आमनेसामने हुँदैछन् । दुई वर्ष अघिको प्रतिस्पर्धामा समीर थोरैले दीपकभन्दा अगाडि देखिएका थिए । यो पटक कस्तो हुने हो त्यो सिनेमा रिलिज भए पछि नै थाहा हुनेछ ।
तर, यो पटक दीपक र समीरसँगै अर्का सफल सिनेमाको सिक्वेल लिएर चन्द्र पन्त पनि आउँदैछन् । असोज ३० गते नै उनको चलचित्र ‘आ बाट आमा २’ पनि रिलिज हुनेछ । यसमा पल शाह मुख्य भूमिकामा छन् । त्यसैले शो बाँडफाँटमा पनि यसपटक सिनेमा घरहरूलाई सकस हुनेछ ।





