१० दिनमा ‘आचार्य’काे कमाइ १ करोड ५६ लाख

काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशन, निर्माण तथा मुख्य अभिनय रहेको चलचित्र ‘आचार्य’ले प्रदर्शनको १० दिनमा १ करोड ५६ लाख ६७ हजार ५ सय ४६ रुपैयाँ ग्रस कमाएको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको असोज १८ गते आइतबार राति ११ः५९ बजेसम्मको बक्स अफिस विवरणअनुसार ‘आचार्य’का ५४ हजार १ सय ६ वटा टिकट बिक्री भएका छन् ।

एक्सन–ड्रामा जनरामा निर्माण भएको चलचित्रमा निखिल उप्रेतीसँगै पूर्णिका सिजापती, दीपजंग राणा, रोहित चौधरीलगायत कलाकारको अभिनय छ । पूर्णिकाले यही चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् ।

त्यस्तै, निखिलले लामो समयपछि यही चलचित्रमार्फत ठूलो पर्दामा कमब्याक गरेका हुन् । चलचित्रको निर्देशन र निर्माणको जिम्मेवारीसमेत निखिलले नै सम्हालेका छन् ।