‘सिन्दूर’मा विपिन र निरुताको प्रवेश

काठमाडौं । कस्तुरी प्रोडक्सन प्रालिको प्रस्तुति तथा क्लासिक सिने यूनिभभर्स प्रालिको सहकार्यमा निर्माण भइरहेको फिल्म ‘सिन्दूर’को छायांकन भइरहेको छ । पश्चिम नेपालको दाङ जिल्लामा फिल्म छायांकन भइरहेको छ ।

लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्ममा सञ्जिव सार्कीको लगानी छ । फिल्मका कार्यकारी निर्माता दिनेश सिंह महरा हुन् ।

यसैबीच, यो फिल्ममा अब नायक विपीन कार्की र नायिका निरुता सिंहको प्रवेश भएको छ । फिल्मको छायांकनको सुरुवाती दिनमा नायक पुष्प खड्का र नायिका प्रशंसा रायमाझीको मात्र नाम सार्वजनिक भएको थियो ।

अब, फिल्ममा चर्चित दुई अनुहारको प्रवेश भएको जानकारी निर्माणपक्षले गराएको छ । फिल्मका निर्देशक सुनारका अनुसार, निरुताले केही दिनमै छायांकन सुरु गर्नेछिन् भने विपिनले दशैंपछि फिल्मको छायांकन सुरु गर्नेछन् ।

निरुता र विपिन फिल्ममा पहिलो पटक एकसाथ देखिन लागेका हुन् । यी दुइको भूमिकाबारे केही पनि खुलाइएको छैन ।

संकल्प भुजेलको छायांकन रहेको यो फिल्ममा प्रशान्त सिवाकोटी, श्रीकृृष्ण बम मल्ल र दिनेश ढकालको संगीत छ । प्रकाश हमाल निर्माण प्रमुख रहेको फिल्ममा करण बहादुर साउदको मुख्य सहायक निर्देशन, रामजी लामिछानेको नृत्य निर्देशन छ ।