भारतमा ‘हिमालयन गोल्ड’ रिलिज गर्दै एए फिल्म्स, निर्देशक राजवंशी के भन्छन् ?
काठमाडौं । चलचित्र ‘हिमालयन गोल्ड’ले भारतमा प्रदर्शनका लागि भारतीय वितरक कम्पनी एए फिल्म्ससँग सम्झौता गरेको छ । एए फिल्म्समार्फत सम्पूर्ण भारतमा एकसाथ प्रदर्शनको अवसर पाउने ‘हिमालयन गोल्ड’ पहिलो नेपाली चलचित्र बनेको निर्माण पक्षको दाबी छ ।
धिराज राजवंशीको निर्देशनमा तयार भएको चलचित्र आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रको भारत प्रदर्शनका लागि मुम्बईमा एए फिल्म्सका संस्थापक तथा भारतीय चलचित्र क्षेत्रका चर्चित वितरक अनिल थडानीसँग औपचारिक सम्झौता भएको हो ।
एए फिल्म्स भारतका प्रमुख चलचित्र वितरण कम्पनीमध्ये एक हो । कम्पनीले ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजीएफ : च्याप्टर २’, ‘पुष्पा’ र ‘कान्तारा’जस्ता चर्चित चलचित्र वितरण गरिसकेको छ ।
भारतमा ‘हिमालयन गोल्ड’को प्रदर्शनबारे एए फिल्म्सका संस्थापक अनिल थडानीले भाषा र भूगोलको सीमाभन्दा माथि उठेर उत्कृष्ट कथालाई भारतीय दर्शकमाझ पुर्याउने आफ्नो कम्पनीको उद्देश्य रहेको बताएका छन् ।
भारत रिलिजबारे प्रतिक्रिया दिँदै उनले भने, “‘हिमालयन गोल्ड’ यस्तो चलचित्र हो, जसको उत्कृष्ट कथावस्तु सम्पूर्ण भारतीय दर्शकले अनुभव गर्नुपर्छ । यसको प्रतिभाशाली टोलीसँग जोडिन पाउनु हाम्रा लागि गर्वको विषय हो । दर्शकले भाषाको पर्खाल तोडेर चलचित्रलाई माया गर्नेछन् भन्ने हाम्रो विश्वास छ ।”
यस उपलब्धिबारे निर्देशक धिराज राजवंशीले खुसी व्यक्त गरेका छन् । “यो मेरो लागि मात्र नभई सम्पूर्ण नेपाली चलचित्र उद्योगकै लागि कति ठूलो कुरा हो भनेर म शब्दमा वर्णन गर्न सक्दिनँ । ‘हिमालयन गोल्ड’को सम्भावनामा विश्वास गरेर भारतभर प्रदर्शनको अवसर दिनुभएकोमा म अनिल थडानी र एए फिल्म्सप्रति साँच्चै आभारी छु,” उनले भने, “उहाँहरूको साथले यो चलचित्र अब भारतभरका दर्शकमाझ पुग्नेछ । हाम्रो उद्योगले निरन्तर खोजिरहेको प्रेरणा नै यही हो । मेरो पहिलो चलचित्रमै यति ठूलो साथ पाउनु मेरो लागि सबै थोक हो ।”
चलचित्रमा सुनिल थापा, राहुल एन मुखिया, परीक्षा लिम्बू, सजन थापा र कर्मा शाक्यको मुख्य अभिनय रहेको छ । यो दिग्गज अभिनेता सुनिल थापाको अन्तिम चलचित्रसमेत हो । दशकौँसम्म नेपाली चलचित्र क्षेत्रमा योगदान दिएका थापाले विभिन्न पुस्ताका दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाएका छन् ।
थापाको अन्तिम चलचित्रलाई नेपालसँगै भारतका दर्शकमाझ पुर्याउनु उनको विरासतप्रतिको सम्मान हुने निर्देशक राजवंशीले बताएका छन् ।





