जम्बीको कथामा ‘टनेल २६’, अनुप भन्छन्– दर्शकले फरक स्वाद पाउनेछन्

काठमाडौं । अभिनेता अनुपविक्रम शाहीले ‘टनेल २६’ नेपाली चलचित्र उद्योगकै पहिलो जम्बी फिल्म भएको दाबी गरेका छन् ।

अनुपले ‘टनेल २६’मा नेपाली चलचित्रमा यसअघि खासै नदेखिएको विषयवस्तु प्रस्तुत गरिएको बताए । उनका अनुसार हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलरको मिश्रण रहेकाले यी विधा मन पराउने दर्शकका लागि चलचित्र फरक अनुभव बन्न सक्छ ।

“हामीले यसमा एउटा बिल्कुलै भिन्न कथा लिएका छौँ । यो जम्बी विधामा बनेको फिल्म हो । नेपाली फिल्म उद्योगको इतिहास हेर्दा पहिलोपटक हामीले जम्बी फिल्म बनाउने प्रयास गरेका छौँ । त्यसैले विशेषगरी हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलर मन पराउने दर्शकलाई यो फिल्म अवश्य मन पर्छ जस्तो लाग्छ,” उनले भने ।

भारत, भुटान र नेपालको सहकार्यमा निर्माण भएको ‘टनेल २६’ आगामी असोज २३ गतेमा प्रदर्शनमा आउँदैछ ।

तीन देशको सहकार्यमा निर्माण भए पनि ‘टनेल २६’लाई भुटानी चलचित्रका रूपमा बुझ्न नहुने अनुपले स्पष्ट पारे । उनका अनुसार नेपालमा चलचित्र नेपाली भाषामा, भुटानमा भुटानी भाषामा र भारतमा त्यहाँको भाषाअनुसार डब गरेर प्रदर्शन गरिनेछ ।

‘यो भारत, भुटान र नेपालको सहकार्यमा बनेको फिल्म हो । नेपालमा रिलिज हुँदा निश्चित रूपमा नेपाली भाषामै रिलिज हुन्छ भने भुटानमा भुटानी भाषामा हुन्छ,’ उनले भने, ‘त्यसैले नेपालमा रिलिज हुने हिसाबले यो हाम्रो आफ्नै नेपाली फिल्म हो ।’

भाषाअनुसार डब गरिँदैमा चलचित्रको पहिचान परिवर्तन नहुने उनको तर्क छ । ‘हामीले धेरै भारतीय फिल्म पनि नेपालीमा डब गरेर हेर्ने गरेका छौँ । तर भाषा परिवर्तन हुँदैमा त्यो भारतीय फिल्म हुन छोड्दैन,’ उनले भने ।

वास्तविक टनेलभित्र गरिएको छायांकनका क्रममा निकै कठिन अनुभव भए पनि अहिले चलचित्रको टिजरले पाइरहेको प्रतिक्रिया र दर्शकको उत्साहले ती सबै दुःख बिर्साएको अनुपले बताए ।