९० दिनमा सकियो ‘जुबा’को छायांकन

काठमाडौं । चलचित्र ‘जुबा’को छायांकन सकिएको छ । अस्त्र फिल्मसको प्रस्तुति चलचित्र ‘जुबाको ९० दिनमा छायांकन सकिएको हो ।

चलचित्रको सर्लाही, राजस्थान, दाप्चा, काठमाडौं, भक्तपुरलगायतका ठाउँमा छायांकन गरिएको निर्देशक प्रकाश कर्णले जानकारी दिए ।

“हामीले तोकेको भन्दा पनि धेरै समय लगाएर हतार नगरी सिनेमाको छायांकन गरेका छौँ,” निर्देशक कर्णले भने, “कलाकार र प्राविधिकले मेहनत गर्नु भएको छ । अब पोस्ट प्रोडक्सनमा पनि हामी पर्याप्त मेहनत गरेर दर्शकका उत्कृष्ट सिनेमा तयार पार्नेछौँ ।”

चलचित्रले हालसम्म रिलिज डेट लक गरेको छैन । केही समयमै प्रदर्शन मिति तय गरिने उनले जानकारी दिए ।

‘जुबा’मा मुख्य भूमिकामा सौगात मल्ल छन् । नायिकामा सोफी धरेल छिन् । उनको यो डेब्यु सिनेमा हो । सौगात र सोफीसँगै मुख्य भूमिकामा सुधन पोखरेल छन् । उनको यो तेस्रो चलचित्र हो । तर, यसअघिका दुवै चलचित्र रिलिज हुन भने बाँकी छन् । मुख्य भूमिकामा भने उनको यो पहिलो चलचित्र हो ।

प्रकाश कर्णको कथा तथा निर्देशन रहेको चलचित्रको राइटर वर्षा पौडेल हुन् । चलचित्रको निर्माता सजना थापा हुन् ।

चलचित्र ‘जुबा’को घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको थियो । एउटा पोस्टरमा सौगात मल्ल थिए । अर्को पोस्टरमा उनी पि.सि.ओ.मा उभिएर फोनमा कुरा गरिरहेका थिए । अर्को पोस्टरमा सुधन छन् । उनले सिगार पिइरहेका थिए । उनको लुक्सले उनी भिलेनको भूमिकामा रहेको प्रष्ट पारेको थियो ।

पोस्टरमा रहेका कलाकारको गेटअपले यो चलचित्रले दुई दशक अगाडिको कथा भन्ने प्रस्ट पारिसकेको छ ।