प्रिमियरबाट उत्साहजनक प्रतिक्रिया पाएपछि रोकियो ‘टनेल-२६’को रिलिज
काठमाडौं । नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको चलचित्र ‘टनेल २६ः द कर्स बिनिथ द माउन्टेन’ को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । असोज २३ गतेदेखि नेपाल र भुटानमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्रलाई अब विश्वव्यापी रूपमा प्रदर्शन गर्ने योजनासहित निर्माण टिमले तत्कालका लागि रिलिज स्थगित गरेको हो ।
बिहीबार ललितपुरको लविम महलस्थित क्यूएफएक्स हलमा आयोजित प्रिमियरलगत्तै चलचित्रको प्रदर्शन मिति स्थगित गरिएको हो । उक्त प्रिमियरबाट प्राप्त प्रतिक्रियालाई आधार बनाउँदै निर्माण टिमले चलचित्रलाई नेपाल र भुटानमा मात्र सीमित नराखी विश्वव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय गरेको जनाएको छ । यही योजनाअनुसार पूर्वनिर्धारित मितिमा हुन लागेको प्रदर्शन तत्कालका लागि स्थगित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
निर्माण टिमले जारी विज्ञप्ति भनिएको छ,‘चलचित्र ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ यही असोज २३ गते (९ अक्टोबर)बाट नेपाल तथा भुटानमा प्रदर्शनमा आउने तय भएको थियो । तर, प्रदर्शनको पूर्वसन्ध्यामा आयोजित ग्राण्ड प्रिमियरबाट चलचित्रले प्राप्त गरेको उत्साहजनक तथा उत्कृष्ट प्रतिक्रियालाई मध्यनजर गर्दै चलचित्रलाई नेपाल र भुटानमा मात्र सीमित नराखी विश्वव्यापी रूपमा प्रदर्शन गर्ने निर्णय गरिएको छ । यसै निर्णयअनुसार, असोज २३ गतेबाट हुने भनिएको चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ । चलचित्रको प्रदर्शन स्थगित गर्नुपरेकोमा सम्पूर्ण दर्शक, सञ्चारकर्मी, प्रदर्शक तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ। साथै, चलचित्रप्रति देखाउनुभएको माया, उत्साह र विश्वासका लागि हार्दिक आभार व्यक्त गर्दछौँ ।’
यस्तै निर्माण टिमले चलचित्रलाई नेपाली, भुटानी, हिन्दी र अंग्रेजी गरी चार भाषामा विश्वका विभिन्न देशमा प्रदर्शन गरिने बताएको छ । अन्तर्राष्ट्रिय प्रदर्शनका लागि आवश्यक प्रक्रिया तथा व्यवस्थापकीय तयारी पूरा भएपछि चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरिने जनाइएको छ ।
नेपाल, भुटान र भारतको सहकार्यमा बनेको ‘टनेल २६’ ले दक्षिण एसियाली चलचित्रलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य राखेको छ । बहुभाषिक प्रदर्शनको योजनाले चलचित्रलाई फरक भाषा र क्षेत्रका दर्शकमाझ पुर्याउन सहयोग पुग्ने निर्माण टिमको अपेक्षा छ । यद्यपि, चलचित्र कुन-कुन देशमा प्रदर्शन हुनेछ र अन्तर्राष्ट्रिय वितरण कसरी अघि बढाइनेछ भन्ने विषयमा विस्तृत जानकारी भने सार्वजनिक गरिएको छैन ।
‘टनेल २६’ को निर्माणमा डोर्जिस प्रोडक्सन, रेल्टिक पिक्चर्स र रोलिङ इमेज पिक्चर्सलगायतका कम्पनीको सहकार्य रहेको छ । डोर्जिस प्रोडक्सनका तर्फबाट दोर्जी वाङ्चुक, रेल्टिक पिक्चर्सबाट प्रशान्त कुमार गुप्ता र कृष्ण गुप्ता तथा रोलिङ इमेज पिक्चर्सबाट डीडी किन्ले निर्माण सहकार्यमा जोडिएका छन् ।
चलचित्रका कार्यकारी निर्माता दोर्जी वाङ्चुक हुन् भने नेपाली चलचित्र क्षेत्रका अभिनेता प्रदीप खड्का क्रिएटिभ प्रोड्युसरका रूपमा आबद्ध छन् । त्यसैगरी, सिजी ग्रुपका निर्वाण चौधरी पनि चलचित्रको निर्माणमा जोडिएका छन् ।
चलचित्रको लेखन, निर्देशन तथा सम्पादन डीडी किन्लेले गरेका छन् । प्राविधिक र सिर्जनात्मक पक्षमा विभिन्न देशका चलचित्रकर्मीको सहभागिता रहेको यस चलचित्रले नेपाल, भुटान र भारतबीचको चलचित्र निर्माण सहकार्यलाई समेत प्रतिनिधित्व गर्छ ।
चलचित्रमा सङ्गे छेल्ट्रिम, अनुपविक्रम शाही, आना शर्मा, निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायत कलाकार मुख्य भूमिकामा छन् ।
चलचित्रको छायांकन दीर्घ गुरुङ र सङ्गे टी. तेन्जिङले गरेका छन् भने एक्सन निर्देशन राजु तामाङ छन् । चलचित्रको संगीत टेरड्साक जानपानले तयार पारेका छन् भने ध्वनि संयोजनको जिम्मेवारी करण थामावोङले सम्हालेका छन्। चलचित्रको व्यवस्थापनमा लिभेन्ट्स स्टुडियो र सन्तोष कुमार कार्की पनि जोडिएका छन्।
पूर्वनिर्धारित मितिमा चलचित्र प्रदर्शन गर्न नसकिएकोमा निर्माण टिमले दर्शक, सञ्चारकर्मी, प्रदर्शक तथा शुभेच्छुकहरूसँग क्षमायाचना गरेको छ ।





