राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन् । प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशनअन्तर्गत अध्यक्ष पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
महोत्तरीको बर्दिबासमा बिहीबारदेखि सुरु भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता गरिएको थियो । अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी नपरेपछि निर्वाचन प्रक्रियाअनुसार शर्मा निर्विरोध भएका हुन् । उनी यसअघि प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए ।
प्रतिष्ठानको नेतृत्व चयनका क्रममा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्षका केही पद तथा महासचिवमा समेत निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार वरिष्ठ उपाध्यक्षमा दीपक खड्का र प्रथम उपाध्यक्षमा सुवास केसी निर्विरोध भएका छन् ।
त्यस्तै, द्वितीय उपाध्यक्षको सांगठनिकतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । महासचिव पदमा शिव हमालको मात्रै उम्मेदवारी परेपछि उनी पनि निर्विरोध भएका हुन् ।
उपाध्यक्ष पदका लागि भने विभिन्न कलाकारले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा देवी घर्ती, पूर्णकला बिसी, श्रीकृष्ण बम मल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दीपक गरौजा मगर, नवीन पौडेल, पुष्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बम मल्लको उम्मेदवारी परेको छ ।
प्रतिष्ठानको नयाँ नेतृत्व चयनका लागि अन्य पदमा भने शुक्रबार मतदान भएको छ । निर्विरोध निर्वाचित पदाधिकारीसँगै मतदानबाट चयन हुने पदाधिकारीको टुंगो लागेपछि प्रतिष्ठानको नयाँ कार्यसमिति पूर्ण हुनेछ ।
लोक तथा दोहोरीगीत क्षेत्रका कलाकारलाई संगठित गर्दै नेपाली मौलिक लोकसंस्कृति, लोकगीत तथा दोहोरीगीतको संरक्षण र प्रवर्द्धनमा काम गर्दै आएको प्रतिष्ठानको नयाँ नेतृत्व चयनलाई सांगीतिक क्षेत्रले चासोका साथ हेरेको छ ।





