भुवनले छोरालाई आफ्नै शैलीमा उतारे ? ‘बाटुलो जुन’को गीतले जगायो पुरानो याद
काठमाडौं । अभिनेता भुवन केसीको निर्देशनमा निर्माण भएको चलचित्र ‘बाटुलो जुन’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसर पारेर सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन् । गीतको भिडियोमा अनमोलको शैली र प्रिन्सीको अभिव्यक्तिले पुरानो नेपाली चलचित्रका गीतहरूको झल्को दिन्छ ।
युग भुसालको शब्द तथा संगीत रहेको गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ । गीतको भिडियोलाई विक्रम स्वारले कोरियोग्राफी गरेका हुन् । श्रुतिमधुर अडियोसँगै आकर्षक दृश्य, कलाकारको हाउभाउ र पुरानो समयको सम्झना गराउने परिवेशले गीतलाई विशेष बनाएको छ ।
भुवन केसी नेपाली चलचित्रमा भव्य निर्माणशैली र गीतसंगीतको प्रस्तुतिका कारण परिचित छन् । उनले निर्माण तथा निर्देशन गरेका चलचित्रमा गीतको छनोटदेखि त्यसको दृश्यात्मक प्रस्तुतिसम्म विशेष ध्यान दिने गरेको देखिन्छ । ‘मेरो मन चोर्यौ सुटुक्कै’मा पनि भुवनले आफ्नो यही शैलीलाई निरन्तरता दिएका छन् ।
सामान्यतः चलचित्रका गीतले कथाभन्दा अलग रहेर मनोरञ्जन दिने गर्छन् । तर, ‘मेरो मन चोर्यौ सुटुक्कै’को भिडियोले भने चलचित्रको टिजरमा प्रस्तुत गरिएको कथा र त्यसको परिवेशलाई थप अगाडि बढाउने प्रयास गरेको छ । गीतमा देखिने खोला किनार, घुम, डन्डिबियो र मकैबारीजस्ता दृश्यले गाउँघरको पुरानो जीवनशैली र बाल्यकालका सम्झनालाई ताजा गराउँछन् ।
भिडियोको दृश्य संयोजनले दर्शकलाई आधुनिक शैलीका गीतभन्दा फरक अनुभूति दिने प्रयास गरेको छ । गाउँले परिवेश, प्राकृतिक सौन्दर्य र कलाकारको प्रस्तुतिलाई समेट्दै निर्माण गरिएको भिडियोले चलचित्रको कथाप्रति समेत चासो बढाउन सक्छ ।
गीत सार्वजनिक भएपछि विशेष चासोको विषय बनेको छ अनमोल केसीको लुक्स र अभिनय शैली । ‘बाटुलो जुन’को टिजर सार्वजनिक हुँदा अनमोलको हुलियामा उनका पिता भुवन केसीको झल्को देखिएको भन्दै दर्शकले प्रतिक्रिया दिएका थिए । गीतमा अनमोलको हाउभाउ र प्रस्तुतिले उक्त चर्चालाई थप बल पुर्याउने देखिन्छ ।
नेपाली चलचित्रका पुराना गीतमा भुवन केसीले देखाउने रोमान्टिक शैली र आकर्षक प्रस्तुतिको आफ्नै पहिचान थियो । ‘मेरो मन चोर्यौ सुटुक्कै’मा अनमोलको प्रस्तुति हेर्दा दर्शकले भुवनका पुराना गीत सम्झन सक्छन् । यस अर्थमा गीतले बाबु भुवनको चलचित्र शैली र छोरा अनमोलको स्टार छविलाई एउटै पर्दामा जोड्ने प्रयास गरेको छ ।
यता, यही चलचित्रबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी प्रिन्सी खतिवडाले पनि गीतमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरेकी छन् । गीतका शब्दअनुसार उनले प्रस्तुत गरेका हाउभाउ, अनुहारका भाव र रोमान्टिक शैलीले उनको अभिनयप्रतिको सम्भावना देखाउँछन् ।
सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘बाटुलो जुन’मा भुवन, अनमोल र प्रिन्सीसँगै नेन्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय छ ।
सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेको चलचित्र आगामी कात्तिक २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ ।
चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्वसंगीत रहेको छ । प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकका रूपमा जोडिएका छन् । चलचित्रलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् भने विवेक थापा सह–निर्माताका रूपमा रहेका छन् ।


