‘३६ को आँकडा’को गीतमा आफूभन्दा कम उमेरका नायकसँग रेखाको रोमान्स
काठमाडौं । चलचित्र ‘३६ को आँकडा’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको ‘बहुलाउँछु कि क्या हो’ बोलको गीत सार्वजनिक गरेको हो ।
गीतमा सत्यराज आचार्य र अञ्जु पन्तको स्वर छ । शब्द तथा संगीत सुरेश अधिकारीको छ ।
मायामा डुबेका प्रेम जोडीहरूको कथा छ । मायाको गहिराइमा डुबेका प्रेम जोडीहरूले प्रेममा नै देखेको संसारमा गीत केन्द्रित छ ।
जुनको मुस्कानसँग आफ्नो प्रेमी प्रेमिकाको हाँसो तुलना गर्ने प्रेमिल जोडीले सपनामा पनि एकअर्कालाई देख्ने गरेको गीतले बताउँछ । प्रेममा संसार भुल्ने युगल जोडीलाई केन्द्रमा राखेर गीत तयार पारिएको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य चार कलाकार फिचर्ड छन् । रेखा थापा र महेश त्रिपाठी तथा पूजा शर्मा र पुष्प खड्काको जोडीको गीतमा नृत्य देख्न सकिन्छ ।
रेखा यो गीतमा आफूभन्दा कम उमेरको नायकसँग अनस्क्रिन रोमान्स गरेकी छन् । विराज भट्ट, निखिल उप्रेतीलगायतले आफूभन्दा निकै कम उमेरकी नायिकासँग स्क्रिन सेयर गरेका चर्चा भइरहँदा रेखाको हकमा पनि यही देखिएको हो ।
सविर श्रेष्ठको निर्देशन रहेको चलचित्र ‘३६ को आँकडा’ मंसिर १७ गते रिलिज हुँदैछ । चलचित्रमा रेखा थापा, पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का, महेश त्रिपाठीलगायत कलाकारको मुख्य भूमिका छ ।


