सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक, मङ्सिर ४ देखि प्रदर्शनमा आउने

काठमाडौं । आगामी मङ्सिर ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो ।

महिलालाई केन्द्रमा राखेर तयार पारिएको यसको कथाले जीवनमा सबै कुरा गुमेपछि मानिसले अस्तित्व रक्षाका लागि गर्ने संघर्षलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । जसमा यार्सागुम्बा टिप्न हिमाली क्षेत्र पुगेकी एक युवतीले सामना गर्ने चुनौतीलाई देखाइएको छ । लुटेराको समूहसँग भेट भएपछि उनले आफूलाई कसरी जोगाउलिन् भन्ने कथा ट्रेलरले देखाएको छ ।

नेपालको इतिहास, संस्कृति र मौलिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यसहित निर्माण गरिएको यस चलचित्रले सर्भाइभल कथामार्फत दर्शकलाई फरक स्वाद दिने अपेक्षा निर्माण टिमले गरेको छ ।

दिग्गज अभिनेता सुनिल थापाको अभिनय रहेको ‘हिमालयन गोल्ड’ उनको अन्तिम चलचित्रसमेत हो । दशकौँसम्म नेपाली चलचित्र क्षेत्रमा योगदान दिएका थापाको अभिनयलाई यस चलचित्रमा अन्तिमपटक ठूलो पर्दामा हेर्न पाइने भएकाले यो फिल्म उनका प्रशंसकका लागि विशेष बनेको छ । निर्माण पक्षले थापाको अन्तिम प्रस्तुतिलाई नेपालसँगै अन्तर्राष्ट्रिय बजारका दर्शकमाझ पुर्‍याउनु उनको कलात्मक विरासतप्रतिको सम्मान भएको जनाएको छ।

चलचित्रमा सुनिल थापासँगै परीक्षा लिम्बू, कर्मा शाक्य, राहुल एन. मुखिया र सजन थापाको मुख्य भूमिका रहेको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक धिराज राजवंशीले ‘हिमालयन गोल्ड’लाई नेपाली चलचित्रको परम्परागत शैलीभन्दा फरक ढङ्गले निर्माण गरिएको बताए । चलचित्रमा गीत नराखिए पनि यसको पृष्ठभूमि सङ्गीतले दर्शकलाई कथासँग जोड्ने उनको विश्वास छ ।

“यसमा गीत छैन, तर यसको ब्याकग्राउन्ड म्युजिक एकदमै राम्रो छ, जसले दर्शकलाई सिनेमाप्रति तान्छ । प्राविधिक रूपमा हामीले अन्तर्राष्ट्रिय टिमसँग काम गरेका छौँ,” निर्देशक राजवंशीले भने ।

चलचित्रको प्राविधिक पक्षलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रयास गरिएको उनको भनाइ छ । नेपाली भूगोल, संस्कृति र मौलिकतालाई कथासँग जोड्दै विश्व बजारमा समेत प्रतिस्पर्धा गर्न सक्ने चलचित्र बनाउने उद्देश्यले निर्माण गरिएको उनले बताए ।

‘हिमालयन गोल्ड’को सबैभन्दा महत्त्वपूर्ण पक्ष यसको अन्तर्राष्ट्रिय वितरण हो । यो चलचित्र भारतभर एकसाथ प्रदर्शनको अवसर पाउने पहिलो नेपाली चलचित्र बनेको निर्माण पक्षको दाबी छ ।

चलचित्रको भारत वितरणका लागि मुम्बईमा प्रतिष्ठित वितरक कम्पनी ‘एए फिल्म्स’का संस्थापक अनिल थडानीसँग औपचारिक सम्झौता भइसकेको छ । ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘बाहुबली’, ‘आरआरआर’, ‘केजिएफ : च्याप्टर २’ र ‘पुष्पा’ जस्ता चर्चित चलचित्र वितरण गरेको कम्पनीले ‘हिमालयन गोल्ड’लाई भारतीय बजारमा पुर्‍याउनेछ।

निर्देशक राजवंशीका अनुसार भारतको वितरक कम्पनीले चलचित्रलाई हिन्दीमा डब गर्ने विकल्पसमेत दिएको थियो । तर, कथाको मौलिकता र पात्रहरूको वास्तविक अनुभूति कायम राख्न निर्माण पक्षले डबिङ नगर्ने निर्णय गरेको हो ।

“डब गर्दा फिल्मको वास्तविक ‘फिल’ आउँदैन र यसका लागि सही आर्टिस्ट चाहिन्छ। हामीले डबिङलाई अस्वीकार गर्‍यौँ, किनकि म केही युनिक कुरा र नेपालको मौलिकता विश्वमाझ देखाउन चाहन्थेँ,” उनले स्पष्ट पारे ।

चलचित्र भारत, जापान र अस्ट्रेलियालगायतका देशमा नेपाली भाषामै प्रदर्शन गरिनेछ। ती देशका दर्शकलाई लक्षित गर्दै आवश्यक सबटाइटलको व्यवस्था गरिने निर्माण पक्षले जनाएको छ। नेपाली भाषामै अन्तर्राष्ट्रिय दर्शकमाझ पुग्ने योजनाले चलचित्रको मौलिक पहिचानलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

चलचित्रकी मुख्य अभिनेत्री परीक्षा लिम्बुले ‘हिमालयन गोल्ड’ आफ्ना अघिल्ला चलचित्रभन्दा नितान्त फरक रहेको बताइन् । यसअघि आफूले सामाजिक विषयवस्तु, पारिवारिक सम्बन्ध र प्रेमकथामा आधारित चलचित्रमा काम गरे पनि यसपटक सर्भाइभल कथामा अभिनय गर्ने अवसर पाएको उनको भनाइ छ ।

“मेरा पहिलेका फिल्महरू सोसल ड्रामा, फेमिली ड्रामा र लभ स्टोरी थिए । यसमा चाहिँ एउटा मानिसको जीवनबाट सबै कुरा खोसिँदा के बाँकी रहन्छ भन्ने सर्भाइभल स्टोरी छ,” उनले भनिन् ।

नेपालमा महिला प्रधान चलचित्र तुलनात्मक रूपमा कम निर्माण हुने गरेको उल्लेख गर्दै उनले यस्तो कथामा काम गर्न पाउनु आफ्ना लागि विशेष अवसर भएको बताइन् । चलचित्रको छायांकन चुनौतीपूर्ण भए पनि काम गर्ने क्रममा सहज अनुभव भएको उनले सुनाइन् ।

परीक्षाका अनुसार ‘हिमालयन गोल्ड’ले महिला पात्रलाई केन्द्रमा राखेर संघर्ष, अस्तित्व र जीवनप्रतिको जिजीविषालाई प्रस्तुत गर्नेछ । यसले नेपाली चलचित्रमा महिलालाई मुख्य पात्र बनाएर फरक विधाका कथा भन्ने सम्भावनालाई समेत उजागर गर्ने उनको विश्वास छ ।

अभिनेता कर्मा शाक्यले पनि ‘हिमालयन गोल्ड’को कथावस्तु नियमित रूपमा निर्माण भइरहेका नेपाली चलचित्रभन्दा फरक रहेको बताए । नयाँ निर्देशक र नयाँ विचारमा आधारित चलचित्रमा काम गर्न आफू सधैँ उत्साहित हुने उनको भनाइ छ ।

“यो फिल्मको स्क्रिप्ट नियमित बन्ने नेपाली फिल्मभन्दा धेरै फरक छ । अब महिलालाई मुख्य पात्र बनाइएका फिल्मको पनि बजार छ भनेर बुझ्नुभएकोमा निर्देशकलाई धन्यवाद दिन चाहन्छु,” कर्माले भने ।

उनको भनाइले नेपाली चलचित्रमा विषयवस्तुको विविधता र महिला केन्द्रित कथाको बजार विस्तार गर्नुपर्ने आवश्यकतालाई समेत औँल्याएको छ ।

चलचित्रका वितरक तथा निर्माता नकिम उद्दिनले ‘हिमालयन गोल्ड’ले अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना बोकेको बताए । भारतीय वितरक कम्पनी एए फिल्म्सले चलचित्रको कथावस्तु मन पराएर सम्झौता गरेको र जापानलगायत अन्य देशबाट पनि सकारात्मक प्रतिक्रिया आइरहेको उनको भनाइ छ ।

“भारतमा रिलिज गर्न एए फिल्म्सले मन पराएर सम्झौता भइसकेको छ । जापानसहित अरू देशमा पनि यसलाई मन पराइरहेका छन्,” उद्दिनले भने ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको पहुँच विस्तार हुन सके त्यसले समग्र नेपाली चलचित्र उद्योगलाई फाइदा पुग्ने उनको विश्वास छ । नेपालमा मात्र सीमित नभई विदेशी दर्शकमाझ पनि नेपाली कथालाई पुर्‍याउन सके चलचित्र निर्माणमा नयाँ सम्भावना खुल्ने उनले बताए ।

‘हिमालयन गोल्ड’ले नेपालको संस्कृति र मौलिकतालाई अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ । भारतको ठूलो वितरण सञ्जालमार्फत प्रदर्शनको तयारी, नेपाली भाषामै विदेशी बजारमा पुग्ने योजना र सर्भाइभल कथावस्तु यसका प्रमुख आकर्षण हुन् ।