महेश र वर्षाको अभिनय रहने ‘बाकस’को शुभमुहूर्त, छायांकन दशैंलगत्तै हुने

काठमाडौं । नवीन पन्तको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘बाकस’को शुभमुहूर्त गरिएको छ । पिके इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजाआजा गर्दै शुभमुहूर्त गरिएको हो ।

शुभमुहूर्त कार्यक्रममा अभिनेत्री वर्षा राउत, अभिनेता महेश त्रिपाठी, अभिनेत्री विपना थापा, कलाकार भोलाराज सापकोटा, पुष्कर राउत, विक्रम बुढाथोकीलगायत कलाकारको उपस्थिति थियो ।

निर्माण पक्षका अनुसार चलचित्रको छायांकन दशैंलगत्तै सुरु हुनेछ । सिनेमाको कथा पनि निर्देशक पन्त स्वयंले लेखेका हुन् ।

चलचित्रमा महेश त्रिपाठी, वर्षा राउत, विपना थापा,भोलाराज सापकोटा, हिउँबाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको अभिनय रहनेछ । यस्तै, बालकलाकार सुपला सापकोटा, सनज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायत कलाकार पनि चलचित्रमा देखिनेछन् ।

यस सिनेमामार्फत अभिनेता भोलाराज सापकोटा र उनकी छोरी सुपला सापकोटाले पहिलोपटक एकसाथ पर्दा साझा गर्ने भएका छन् ।

महेश पौडेलको छायांकन चलचित्रमा संगीत दीपक शर्मा र सनम पुरुष राईको रहनेछ । गीत तथा शब्दमा दीपक शर्मा र निर्देशक पन्तकै रहने छ भने मुख्य सहायक निर्देशकमा मनि तामाङ, द्वन्द्व निर्देशकमा किरण दाहाल र प्रोडक्सन म्यानेजरमा निर्मल न्यौपाने रहेका छन् ।

सुजिता चौलागाईंको निर्माणमा बन्ने फिल्ममा राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्माताका रूपमा रहेका छन् ।

निर्माण पक्षका अनुसार सिनेमाको सुटिङ सकेपछि प्रदर्शन मिति तोक्ने योजना छ ।