‘कबड्डी ५’को ट्रेलरमा काजीको वैवाहिक जीवन र मैयासँगको सम्बन्धको नयाँ पाटाहरू उजागर
काठमाडौं । निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा काजीको वैवाहिक जीवन, मैया र काजीको सम्बन्धको नयाँ पाटाहरू र विपीन कार्कीको भूमिकालाई टिजरभन्दा अझ बढी प्रस्ट र मनोरञ्जनात्मक रूपमा देखाइएको छ ।
ट्रेलरमा बेरोजगारीबाट दिक्क भएर काजी, बीके र छन्त्यालले मुस्ताङमा शान्ति होटल खोलेर नयाँ व्यवसाय सुरु गरेको देखाइएको छ ।
नयाँ व्यवसाय सुरु गरेपछि कथामा झन् ठूलो ट्विस्ट आउँछ, जहाँ सृजना गुरुङले निभाएको नयाँ मैयाको पात्रसँग काजीको विवाह भएको देखाइएको छ ।
यसका साथै काजीको टोली, र गाउँमा छिरेको बिपिन कार्कीको रैथाने गुन्डा समूहबीच हुने टक्कर, एक्सन र कमेडी शैलीका कारण ट्रेलर निकै धमाकेदार बनेको छ । ट्रेलरको अन्त्यतिर काजी र मैया एउटै गाडीमा कतै गइरहेको दृश्यले दर्शकलाई थप कौतुहलता पैदा गर्ने देखिन्छ ।
काजीको पारिवारिक ट्विस्ट, शान्ति मिसको खोजी र विपीन कार्कीको धमाकेदार इन्ट्रीका कारण ट्रेलरले सिनेमालाई लिएर दर्शकको उत्सुकता र पर्खाइ झनै बढाउने देखिन्छ ।
नेपाली सिने बजारमा इतिहास रच्दै ‘कबड्डी’ का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सुपरहिट र ब्लकबस्टर साबित भइसकेका छन् । सोही क्रेजलाई निरन्तरता दिँदै निर्माण गरिएको यस वर्षकै सबैभन्दा प्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ यस वर्ष दशैंको पर्सिपल्ट अर्थात् कात्तिक ६ गतेबाट प्रदर्शनमा आउनेछ ।
सिनेमामा कलाकारहरू दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगरलगायको अभिनय रहेको छ ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ ।


