सेन्सर बाट ‘पीजी’ सर्टिफिकेट पाएको ‘आ बाट आमा २’को अग्रिम बुकिङ खुल्यो, कति पायो शो ?

काठमाडौं । चलचित्र ‘आ बाट आमा २’ शुक्रबार (भोलि)देखि प्रदर्शनमा आउनेछ । प्रदर्शन मिति नजिकिएसँगै राजधानी र मोफसलका अधिकांश मल्टिप्लेक्सहरूले अग्रिम टिकट बुकिङ खुलाएका छन् ।

आमा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई पर्दामा उतार्न लागेको यो चलचित्रले सेन्सर बोर्डबाट ‘पीजी’ प्रमाणपत्र प्राप्त गरेको छ । ‘पीजी’ प्रमाणपत्र पाएसँगै १६ वर्षभन्दा कम उमेरका दर्शकले सिनेमा हेर्न अभिभावकको साथ लिनुपर्नेछ ।

प्रारम्भिक चरणमा ‘आ बाट आमा २’ले देशभर १ सय २४ शो पाएको छ । हालसम्म यो चलचित्रलाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि काठमाडौं उपत्यकामा २३ शो निकालेको छ भने मोफसलमा २४ शो दिएको छ ।

दोस्रो ठूलो मल्टिप्लेक्स चेन आइएनआईले देशभरको आफ्ना आउटलेटमा २४ शो दिएको छ । यस्तै फ्रेन्ड्स सिनेमाज्ले ८, वान सिनेमाजले ९, बिग मुभिजले ४ शो निकालेका छन् । यद्यपि, अन्य मल्टिप्लेक्सले भने अहिलेसम्म शो सार्वजनिक गरेका छैनन् ।

चन्द्र पन्तको कथा तथा निर्देशनमा बनेको ‘आ बाट आमा २’ ले प्रदर्शनअघि नै आफ्ना गीत, टिजर र ट्रेलरमार्फत दर्शकमाझ राम्रो चर्चा बटुलिसकेको छ । विशेषगरी फिल्मको ट्रेलरले सार्वजनिक भएको दुई दिनमा ४१ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ । यसले फिल्मप्रति दर्शकको उत्सुकता कति छ भन्ने संकेत गरेको छ ।

फिल्मको दसैँ गीत ‘क्या दामी देखिया’ ले ६ दिनमै ४६ लाखभन्दा बढी भ्युज पाएको छ । त्यसैगरी, यसअघि सार्वजनिक गीत ‘अचेल किन कान्छी’ लाई ६४ लाखभन्दा बढी पटक हेरिएको छ । टिजर र ट्रेलरले पाएको प्रतिक्रियाले पनि फिल्मको प्रदर्शनलाई लिएर दर्शकमाझ उत्सुकता बढाएको देखिन्छ ।

निर्माण टिमले सार्वजनिक गरेका प्रचार सामाग्रीले उच्च हाइप बनाएको सिनेमाले राम्रो ग्रकसलेक्सन गर्नेमा निर्माण टिम विश्वस्थ छ ।

पारिवारिक प्रेम, सम्बन्धको मिठास र आमा–सन्तानबीचको गहिरो भावनात्मक सम्बन्धलाई मुख्य विषय बनाइएको यस फिल्ममा विपना थापा, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलिप अखेडालगायत कलाकारको अभिनय रहेको छ ।

फिल्मको लेखनमा रोशन भट्ट र चन्द्र पन्तले सहकार्य गरेका छन् भने संवाद रोशन भट्टले लेखेका हुन् । नवराज उप्रेतीको छायाङ्कन, बाबुल गिरीको सङ्गीत र गम्भीर बिष्टको नृत्य निर्देशन रहेको फिल्मका प्रोडक्सन एक्जिक्युटिभ करण सिंह हुन्। साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेको यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ भने नेपालभर वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ ।