चलचित्र ‘जलाकी’ को तेस्रो गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘जलाकी’ को तेस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार ‘कलेजीको छेऊ’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतको शब्द रचना सुरेन्द्र रानाले गरेका छन् । संगीत निर्देशन, मिक्सिङ तथा मास्टरिङ एसडी योगीको रहेको छ ।

गीत एसडी र गीताञ्जली थापा मगरले गाएका हुन् । रिकेश गुरुङको संगीत संयोजन रहेको गीतको बाँसुरीमा रत्न बीक, मादल तथा खैँजडीमा मदन रेग्मी, पञ्चेबाजामा शिशिर परियार र सारङ्गीमा हेमन्त कान्छा रसाइलीले साथ दिएका छन् ।

गीतको रेकर्डिङ तथा मिक्सिङ सुपरभिजन सागर खड्काले गरेका हुन् ।

गीत प्रेमी र प्रेमिका बीचको गहिरो प्रेम र आकर्षणमा आधारित छ । गीतको भिडियोमा सिनेमाका कलाकार उपासना सिंह ठकुरी, सोनम ताप्देन, खड्क बहादुर पुनलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

भिडियोमा सोनम र उपासना सिंहको जोडी छ ।

निर्देशक अशोक थापा मगरले सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताएका छन् ।

सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन, लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।