बहुप्रतीक्षित ‘कबड्डी ५’ले पायो युनिभर्सल सर्टिफिकेट
काठमागडौं । रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५’ले पायो युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र जाँच समितिले शुक्रबार सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको छ ।
युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा सबै उमेर समूहका दर्शकहरूले हेर्न पाउनेछन् । सिनेमालाई सेन्सर बोर्डबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक गुरुङले बताए ।
निर्देशक गुरुङका अनुसार, सेन्सर बोर्डका पदाधिकारीले ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले अघिल्ला शृङ्खलाहरूमा जस्तै सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रतिक्रिया दिएका छन् ।
यसअघि सार्वजनिक सिनेमाको प्रचारसामग्री पोस्टर, टिजर ट्रेलर र गीतलाई दर्शकले पनि अत्याधिक रुचाएका छन् । टिजर र ट्रेलर हेरेर दर्शकले सिनेमा हेर्न निकै उत्साहित रहेको प्रतिक्रिया दिइरहेका छन् ।
सिनेमा कात्तिक ६ गते प्रदर्शन हुनेछ । सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, सिर्जना गुरुङ, मिरुना मगर र रिश्मा गुरुङ मुख्य आकर्षकका रूपमा रहेका छन् ।
ट्रेलरमा समेटिएको बेरोजगारीबाट दिक्क भएर काजी र उनको टोलीले मुस्ताङमा शान्ति होटल खोली नयाँ व्यवसाय सुरु गरेको, काजीको नयाँ वैवाहिक जीवनमा आउने उतारचढाव तथा विपिन कार्कीको ग्याङसँगको टक्करलाई एक्सन र कमेडी शैलीलाई दर्शकले निकै रुचाएका छन् ।
सिनेमामा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङले लगानी गरेका छन् ।
सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादनमा बनेको छ ।


