निर्माता रोहित अधिकारी भन्छन्- बरू झोला बोकेर दाङ गइन्छ, निःशुल्क टिकट बाँडिन्न

काठमाडौं । दशैँको बिदालाई लक्षित गर्दै हिजोदेखि प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ का निर्माता रोहित अधिकारीले आफ्नै चलचित्रको टिकट आफैँले किन्ने र निःशुल्क बाँड्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् ।

पछिला केही वर्षयता आफ्नो सिनेमाको टिकट निर्माताले आफैँ किनिरहेको भन्ने कुरा सार्वजनिक भइहेका बेला निर्माता रोहितले त्यसको बिरोध जनाएका हुन् ।

यसअघि अभिनेता विराज भट्टले पनि हल भिजिटका क्रममा निर्माताले आफै टिकट किन्ने प्रवृत्तिको विरोध गरेका थिए ।

रोहितले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चलचित्रको टिकट खरिदमा कुनै पनि रकम खर्च नगरेको स्पष्ट पारेका छन् । उनले दर्शकबाट राम्रो प्रतिक्रिया आउन थालेकाले भोलिदेखि अधिकांश हलमा चलचित्रका शो बढ्ने दाबीसमेत गरेका छन् ।

‘वर्ड अफ माउथ’ अर्थात् दर्शकबाट दर्शकसम्म पुग्ने सकारात्मक प्रतिक्रियाका कारण चलचित्रले थप शो पाउन लागेको उनको भनाइ छ । आफ्नै चलचित्रको टिकट आफैँले किन्ने वा निःशुल्क बाँड्ने संस्कार सही नभएको संकेत गर्दै उनले आफू भने झोला बोकेर दाङ जाने बताएका छन् ।

उनले लेखेका छन्, ‘वर्ड अफ माउथ बलियो आएकाले भोलिदेखि छ माया छ पक्कै २ को अधिकांश हलहरुमा शोजहरु बढ्दै । र, अर्को कुरा एक पैसाको टिकेट आफै किनिएको छैन । बरु झोला भिरेर दाङ गैइन्छ, आफ्नो फिल्मको टिकट फ्रीमा बाँडिदैन ।’

दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘छ माया छपक्कै २’ मा दीपकराज गिरी, केकी अधिकारी र शनिसा भट्टराई मुख्य भूमिकामा रहेको छ । यस्तै दीपाश्री निरौला, प्रकाश घिमिरे, कर्मा, रमा थपलिया, रियान गिरी, मेक्सम गौडेल, निर्मल शर्मा र रविन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आईएमईको प्रस्तुति रहेको चलचित्रका निर्माता रोहित अधिकारी हुन् । निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

चलचित्रको कथा निर्देशक दीपेन्द्र लामा र दीपकराज गिरीले तयार पारेका हुन् भने पटकथा तथा संवाद दीपकराज गिरीले लेखेका छन् ।