सिनेमाका क्लिप सामाजिक सञ्जालमा अपलोड गर्नेलाई कानुनी कारबाहीको चेतावनी

काठमाडौं । चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ हलमा खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेलाई कानुनी कारबाहीको चेतावनी दिइएको छ ।

आफ्नो सिनेमाका दृश्य तथा क्लिपहरू अनधिकृत रूपमा अपलोड नगर्न आग्रह गर्दै निर्माण टिमले यस्तो चेतावनी दिएको हो ।

“चलचित्रका कुनै पनि दृश्य, भिडियो क्लिप, संवाद, महत्वपूर्ण अंश वा अन्य सामग्री अनुमतिबिना सामाजिक सञ्जाल, युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्रामलगायत डिजिटल प्लेटफर्महरूमा अपलोड, पुनः प्रकाशन वा अनधिकृत रूपमा प्रसारण नगरिदिनुहुन सम्पूर्ण दर्शक तथा प्रयोगकर्ताहरूमा विनम्र अनुरोध गर्दछौँ,” निर्माण टिमले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ।

चलचित्र निर्माण एउटा सिर्जनात्मक यात्रा मात्र नभई धेरै कलाकार, प्राविधिक तथा चलचित्रकर्मीहरूको मेहनत, समय र लगानीसँग जोडिएको विज्ञप्तिमा उल्लेख छ ।

“चलचित्रलाई यसको वास्तविक स्वरूपमा, उचित समयमा र आधिकारिक माध्यमबाट हेर्ने वातावरण कायम राख्न यहाँहरूको सानो सहयोगले पनि ठूलो अर्थ राख्दछ,” विज्ञप्तिमा उल्लेख छ, “ चलचित्रको प्रतिलिपि अधिकार तथा सम्बन्धित कानुनी व्यवस्थाको सम्मान गरिदिनुहुन अनुरोध गर्दछौं । अनुमतिबिना चलचित्रका सामग्रीहरू अपलोड वा वितरण गरिएको पाइएमा प्रचलित कानुन तथा प्रतिलिपि अधिकारसम्बन्धी व्यवस्थाअनुसार आवश्यक कदम चाल्नुपर्ने अवस्था आउन सक्ने भएकाले यस विषयलाई गम्भीरतापूर्वक लिइदिनुहुन अनुरोध छ ।”

कसैलाई निरुत्साहित गर्न नचाहेको भन्दै निर्माण कम्पनी बासुरी फिम्सले चलचित्रप्रतिको माया र उत्साहलाई आधिकारिक सामग्री साझा गर्ने, सकारात्मक प्रतिक्रिया दिने र चलचित्रलाई उचित माध्यमबाट समर्थन गर्ने कार्यमा रूपान्तरण गरिदिन आग्रह गरेको छ ।