‘तिरिमिरी झ्याइँ’को फस्टलुक सार्वजनिकसँगै प्रदर्शन मिति घोषणा

काठमाडौं । हास्य विधामा निर्माण भएको चलचित्र ‘तिरिमिरी झ्याइँ’को फस्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। समीरको निर्देशनमा निर्माण भएको यो सिनेमा आगामी माघ २८ गतेदेखि प्रदर्शनमा आउने भएको हो ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई फलामे बारभित्र कैद अवस्थामा प्रस्तुत गरिएको छ । पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन् । उनीहरूको अनुहारमा देखिने फरक–फरक हाउभाउ र भावभङ्गीले चलचित्र हास्यव्यङ्ग्यप्रधान रहेको संकेत गर्छ ।

ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले पोस्टर डिजाइन गरेको पोस्टरले चलचित्रको कथावस्तु र पात्रहरूको अवस्थाबारे प्रस्तुत गरेको छ ।

आभास अधिकारीको कथा तथा अवधारणामा तयार भएको चलचित्र मनोरञ्जन र सामाजिक विषयवस्तुको संयोजनमा निर्माण गरिएको बताइएको छ । समकालीन नेपाली समाजमा देखिने विभिन्न रमाइला, ठट्यौला तथा व्यङ्ग्यात्मक पक्षलाई रोचक शैलीमा प्रस्तुत गर्ने चलचित्रको उद्देश्य रहेको निर्माण पक्षले जनाएको छ । हँसाउने मात्र नभई समाज र सामाजिक परिवेशका विविध पक्षसँग दर्शकलाई जोड्ने अपेक्षा निर्माण टिमको छ ।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रमार्फत ‘दले दाई’ उपनामले परिचित कमेडियन सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गरेका छन् । हास्य प्रस्तुतिका कारण दर्शकमाझ लोकप्रियता कमाएका सुमनको चलचित्र प्रवेशलाई यस फिल्मको एउटा आकर्षणका रूपमा हेरिएको छ ।

चलचित्रमा अभिनेता धिरेन शाक्यसहित आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जयराम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको छायाङ्कन विशाल कक्षपतिले गरेका छन् भने सङ्गीत अभिषेक कार्कीको रहेको छ । गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद तयार पारेका हुन् । यसैगरी सियोन श्रेष्ठले कोरियोग्राफीको जिम्मेवारी सम्हालेका छन्।

चलचित्रका निर्माता प्रद्युम्न बोगटी (प्रविन) हुन् भने आभास अधिकारी कार्यकारी निर्माताका रूपमा रहेका छन् । भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा सह–निर्माताका रूपमा छन् ।