‘कबड्डी ५’को कमाइ १२ करोड नाघ्यो, ‘१२ गाउँ २’को व्यापार २ करोडमै सीमित
काठमाडौं । दसैंको अवसरमा प्रदर्शनमा आएका चार नेपाली चलचित्रमध्ये रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ बक्स अफिसमा सबैभन्दा अगाडि देखिएको छ । प्रदर्शनको तीन साताभन्दा बढी समयमा चलचित्रले १२ करोड रुपैयाँभन्दा बढी ग्रस व्यापार गर्दै दसैंका चलचित्रलाई मात्र होइन, यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये पनि आफूलाई दोस्रो स्थानमा उभ्याएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको ‘कबड्डी ५’ले कात्तिक २२ गतेसम्म १२ करोड ३९ लाख ९२ हजार २४५ रुपैयाँ ग्रस कमाइ गरेको छ । यस अवधिमा चलचित्रका ४ लाख ५ हजार ८८४ वटा टिकट बिक्री भएका छन् । यससँगै चलचित्र यस वर्ष सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको सूचीमा दोस्रो स्थानमा पुगेको छ ।
दसैंमा प्रदर्शनमा आएका चलचित्रमध्ये दोस्रो स्थानमा ‘आ बाट आमा २’ रहेको छ । बोर्डको तथ्यांकअनुसार चलचित्रले आइतबारसम्म ६ करोड ८१ लाख ७ हजार ४१३ रुपैयाँ ग्रस व्यापार गरेको छ । चलचित्रका २ लाख ३७ हजार ३०७ वटा टिकट बिक्री भएका छन् । यसरी हेर्दा दसैंका चार चलचित्रमध्ये ‘कबड्डी ५’ले ‘आ बाट आमा २’भन्दा झन्डै दोब्बर कमाइ गरेको छ ।
दसैंको बक्स अफिसमा तेस्रो स्थानमा ‘छ माया छपक्कै २’ रहेको छ । चलचित्रले हालसम्म ३ करोड ८२ लाख २५ हजार ९४५ रुपैयाँ ग्रस व्यापार गरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ । दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रको कमाइ ‘आ बाट आमा २’को तुलनामा निकै कम देखिएको छ ।
यता, विराज भट्ट निर्देशित एक्सन चलचित्र ‘१२ गाउँ २’ भने दसैंका चार चलचित्रमध्ये सबैभन्दा पछाडि परेको छ । बोर्डका अनुसार चलचित्रका ७५ हजार ५४० वटा टिकट बिक्री भएका छन् भने यसबाट २ करोड ३१ लाख ४० हजार ६७१ रुपैयाँ ग्रस कमाइ भएको छ ।
पहिलो भागले घरेलु बक्स अफिसमा झन्डै २० करोड रुपैयाँको व्यापार गरेको ‘१२ गाउँ’को सिक्वेलले भने अपेक्षाअनुसार दर्शक तान्न सकेन । पहिलो भागको सफलताले दोस्रो श्रृंखलाप्रति दर्शकको अपेक्षा उच्च बनाएको थियो । तर, चार दसैं रिलिजमध्ये सबैभन्दा कम कमाइ गरेपछि ‘१२ गाउँ २’ यस वर्षको ठूलो व्यापारिक असफलतामध्ये एक बनेको छ । उपलब्ध बक्स अफिस तथ्यांकका आधारमा यसलाई ठूलो डिजास्टरका रूपमा समेत हेर्न सकिन्छ ।
दसैंका चलचित्रको व्यापारसँगै चलचित्र विकास बोर्डले अन्य नेपाली चलचित्रको बक्स अफिस विवरण पनि सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार ‘गौँथली’ यस वर्ष सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बनेको छ ।
‘गौँथली’ले हालसम्म २६ करोड २७ लाख ४९ हजार ७३६ रुपैयाँ ग्रस व्यापार गरेको छ । चलचित्रका ९ लाख ५३ हजार ८१७ वटा टिकट बिक्री भएका छन् । यो कमाइसँगै ‘गौँथली’ले यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये शीर्ष स्थान कायम गरेको छ । ‘कबड्डी ५’ भने १२ करोडभन्दा बढी कमाइका साथ दोस्रो स्थानमा छ ।
त्यस्तै, यस वर्षको अर्को सफल चलचित्र ‘पेन्सन पट्टा’ले आइतबारसम्म १० करोड ३३ लाख ७४ हजार ८७८ रुपैयाँ ग्रस कमाइ गरेको छ । १० करोडको आँकडा पार गरेको यो चलचित्रलाई यस वर्षका सफल चलचित्रमध्ये एकका रूपमा हेरिएको छ ।
यता, ‘बाः एक योद्धा’ले भने ३ करोड ५६ लाख ८ हजार १८१ रुपैयाँ ग्रस व्यापार गरेको बोर्डको तथ्यांकमा उल्लेख छ ।


