‘मोनालिसा ब्लडी लभ’ को पहिलो झलक सार्वजनिक, पाँच भाषामा प्रदर्शन गरिने

काठमाडौं । नेपाल र भारतका चलचित्रकर्मी तथा प्रतिष्ठित निर्माण संस्थाहरूको सहकार्यमा बन्न लागेको चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक भएको छ ।

निर्माण पक्षले सार्वजनिक गरेको ‘वल्र्ड अफ मोनालिसा’ शीर्षकमा चलचित्रको पहिलो झलकसहितको चलायमान पोस्टर सार्वजनिक गरेको हो ।

पीजी स्टुडियोको प्रस्तुतिमा प्रशान्त गिरीले निर्माण गर्न लागेको यस चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको ठूलो क्यानभासमा तयार पार्ने लक्ष्य राखिएको छ । चलचित्रको लेखन तथा निर्देशनको जिम्मेवारी किङ योगीले गर्ने छन् । चलचित्र पत्रकारसमेत रहेका सचित खड्का कार्यकारी निर्माताका रूपमा रहनेछन् ।

निर्माण पक्षका अनुसार चलचित्रको पूर्वनिर्माण अर्थात् तयारीको काम हाल भारतको हैदराबाद र बैंगलोरमा भइरहेको छ । छायाङ्कन आगामी असार महिनादेखि सुरु गर्ने तयारी गरिएको छ ।

चलचित्रको करिब ३० प्रतिशत छायाङ्कन नेपालमा र बाँकी ७० प्रतिशत भारतमा गरिनेछ । भारतको चर्चित रामोजी फिल्म सिटीमा समेत चलचित्रका महत्वपूर्ण दृश्यहरू छायाङ्कन गर्ने योजना रहेको निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा नेपाल र भारत दुवै देशका कलाकारहरूको अभिनय रहनेछ । भारतका केही चर्चित कलाकारसँगै नेपाली कलाकारहरूको पनि महत्वपूर्ण भूमिका रहने भए पनि कलाकारहरूको नाम भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । कलाकारको नाम घोषणा गर्ने मितिबारे पनि निर्माण पक्षले जानकारी दिएको छैन ।

ठूलो बजेट र अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डलाई ध्यानमा राखेर निर्माण गर्न लागिएको यस चलचित्रको प्रदर्शनपछिका अधिकांश काम भारतका प्रतिष्ठित कम्पनी र अनुभवी प्राविधिक टोलीसँगको सहकार्यमा गरिने निर्माण पक्षले बताएको छ । सम्पादन, रङ संयोजन, ध्वनि डिजाइन, दृश्य प्रभाव (भिजुअल इफेक्ट), डिजिटल इन्टरमिडियट तथा प्रचार सामग्रीको डिजाइन पर्दछन्।\

चलचित्रलाई नेपाली र हिन्दी भाषासहित पाँचवटा भाषामा प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण टिमको भनाइ छ । अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्‍याउने उद्देश्यसहित विश्वका अग्रणी ओटीटी (इन्टरनेटमार्फत चलचित्र हेर्न सकिने डिजिटल) प्लेटफर्महरूसँग वितरण तथा प्रदर्शनका विषयमा छलफल भइरहेको निर्माण पक्षले जानकारी दिएको छ । यससम्बन्धी अन्तिम निर्णय भने छिट्टै सार्वजनिक गरिने बताइएको छ ।

पहिलो झलक सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु, कलाकार, निर्माण पक्ष र अन्तर्राष्ट्रिय प्रदर्शन योजनाबारे दर्शकमा उत्सुकता बढ्ने अपेक्षा गरिएको छ । नेपाल र भारतका चलचित्र उद्योगबीचको सहकार्यलाई थप विस्तार गर्ने लक्ष्य राखिएको ‘मोनालिसा ब्लडी लभ’ लाई नेपाली चलचित्र क्षेत्रका लागि एक महत्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजनाका रूपमा हेरिएको छ ।