दर्शकलाई झुक्याएर हाइप बनाउन खोज्दा आफैँ झुक्कियो ‘ककाकिकी’ टिम !
काठमाडौं । चलचित्रको प्रचारप्रसारका लागि अनेक उपाय अपनाइन्छन् । कोही कलाकारलाई अनौठो अवतारमा प्रस्तुत गर्छन्, कोही विवाद सिर्जना गर्छन् त कोही दर्शकको ध्यान खिच्न अप्रत्याशित गतिविधि गर्छन् । तर, प्रचारका नाममा दर्शकलाई नै वास्तविकता र अभिनय छुट्याउन नसक्ने अवस्थामा पुर्याइयो भने के हुन्छ ? नेपाली फिल्म ‘ककाकिकी’को निर्माण टिमले अहिले यस्तै प्रश्नको सामना गरिरहेको छ ।
फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रम चलिरहेको थियो । हलभित्र सञ्चारकर्मी, कलाकार र दर्शकको उपस्थिति थियो । कार्यक्रम सामान्य रूपमा अगाडि बढिरहेका बेला अचानक प्रहरीको प्रवेश भयो । त्यसपछि जे दृश्य देखियो, त्यसले त्यहाँ उपस्थित सबैलाई चकित बनायो ।
प्रहरीले फिल्मका निर्देशक बिक्की अग्रवालसहित कलाकारहरू गौरी मल्ल, मनोज गजुरेल, शिशिर वाङ्देल लगायतलाई नियन्त्रणमा लियो । उनीहरूलाई कार्यक्रम स्थलबाट बाहिर निकालियो र प्रहरीको भ्यानमा राखेर लगियो । केही बेरअघिसम्म फिल्मको ट्रेलर सार्वजनिक गरिरहेका कलाकारहरू एकाएक प्रहरीको नियन्त्रणमा पुगेपछि कार्यक्रमस्थलमा अन्योल सिर्जना भयो ।
यो दृश्य वास्तविक पक्राउ थियो कि फिल्मकै कुनै दृश्य ? त्यहाँ उपस्थित सञ्चारकर्मी र दर्शकले तत्काल भेउ पाउन सकेनन् । किनकि निर्माण टिमले यो सबै फिल्मको प्रचारका लागि गरिएको काल्पनिक प्रस्तुति हो भनेर पूर्वजानकारी नै दिएको थिएन ।
केही समयमै घटनाका भिडियो सामाजिक सञ्जालमा फैलिन थाले । ‘फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा प्रहरीको छापा’, ‘निर्देशक र कलाकार पक्राउ’ जस्ता आशयका चर्चा चल्न थाले । कतिपयले त सरकारले नै फिल्मको प्रचार कार्यक्रममा हस्तक्षेप गरेको हो कि भन्ने आशंकासमेत गर्न थाले ।
तर, वास्तविकता अर्कै रहेछ । कलाकारहरूलाई साँच्चिकै पक्राउ गरिएको थिएन । फिल्मको कथावस्तुअनुसार तयार पारिएको एउटा प्रचारात्मक प्रस्तुति मात्रै थियो त्यो । अर्थात्, दर्शकलाई वास्तविक पक्राउको दृश्य देखाएर फिल्मप्रति कौतुहलता जगाउने निर्माण टिमको योजना रहेछ ।
यतिसम्म त प्रचारको एउटा शैली भनेर बुझ्न सकिएला । तर, समस्या त्यतिबेला सुरु भयो, जब यो प्रस्तुति वास्तविक घटना हो कि होइन भन्ने अन्योल फैलिँदै गयो । प्रहरीको भूमिकामाथि प्रश्न उठ्न थाल्यो । नेपाल प्रहरीको आलोचना हुन थाल्यो । कलाकारहरूलाई सार्वजनिक कार्यक्रममा यसरी नियन्त्रणमा लिइएको दृश्यको औचित्यमाथि समेत प्रश्न उठे ।
निर्माण टिमले भने दिनभर यसबारे स्पष्ट जवाफ दिएन । बरु, ‘ट्रेलर रिलिज गर्दा सरकारले प्रहरी लगाएर पक्राउ गर्यो’ भन्ने आशयका चर्चा सामाजिक सञ्जालमा फैलिइरहे । फिल्मको हाइप बढाउने उद्देश्यले सिर्जना गरिएको दृश्यले वास्तविक घटनाको रूप लिन थालेपछि त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न पनि उठ्यो ।
अन्ततः चौतर्फी आलोचना बढेपछि निर्माण पक्ष साँझपख स्पष्टीकरण दिन बाध्य भयो । माया इन्टरटेनमेन्ट स्टुडियोको लेटरप्याडमा निर्देशक बिक्की अग्रवालले हस्ताक्षर गरेको हस्तलिखित पत्र सार्वजनिक भयो । पत्र जिल्ला प्रहरी परिसर काठमाडौंलाई सम्बोधन गरिएको थियो ।
पत्रमा के लेखिएको थियो ?
निर्देशक अग्रवालले प्रहरीसँग आवश्यक समन्वय र अनुमति लिएरै फिल्मको कथावस्तुअनुसार कलाकारहरूलाई नियन्त्रणमा लिइएको दृश्य तयार पारिएको दाबी गरेका छन् । उक्त गतिविधि फिल्मको प्रचारात्मक प्रस्तुति मात्र भएको र कलाकारहरूलाई वास्तविक रूपमा पक्राउ नगरिएको पत्रमा उल्लेख छ ।
तर, पत्रमा अर्को रोचक पक्ष पनि छ । अग्रवालले आगामी दिनमा यस्ता प्रचारात्मक गतिविधि सञ्चालन गर्दा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक स्पष्टता अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यदि प्रहरीसँग आवश्यक समन्वय र अनुमति लिएरै प्रस्तुति गरिएको थियो भने फेरि आगामी दिनमा थप स्पष्टता अपनाउने प्रतिबद्धता किन ? पूर्वसमन्वय भएको दाबी र पछि स्पष्टीकरण दिनुपर्ने अवस्थाबीच देखिएको यही विरोधाभासले निर्माण टिमको प्रचार शैलीमाथि थप प्रश्न खडा गरेको छ ।
अझ, पत्रमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ । प्रचारात्मक प्रस्तुतिको एक अंश मात्रै सार्वजनिक हुँदा कलाकारहरूलाई प्रहरीले वास्तविक रूपमा पक्राउ गरेको भन्ने आशयका समाचार तथा सामग्री आएको भन्दै निर्माण पक्षले ध्यानाकर्षण गराएको छ ।
अर्थात्, दर्शक र सञ्चारमाध्यमलाई वास्तविक घटनाजस्तो देखिने दृश्य देखाउने, त्यसबारे तत्काल स्पष्ट नपार्ने अनि त्यसपछि फैलिएको चर्चालाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई नै जिम्मेवार ठहर्याउने प्रयास गरेको देखिन्छ ।
हाइप खोज्दा उल्टै आलोचनाको घेरामा !
फिल्मको प्रचारमा नयाँ प्रयोग गर्नु गलत होइन । तर, प्रचार र भ्रम सिर्जना गर्नु एउटै कुरा होइन । विशेषगरी प्रहरीजस्तो राज्यको सुरक्षा संयन्त्रलाई प्रयोग गरेर वास्तविक पक्राउको आभास दिने गतिविधिले गम्भीर प्रश्न जन्माउँछ ।
यस घटनामा गौरी मल्ल, मनोज गजुरेल र शिशिर वाङ्देलजस्ता स्थापित कलाकारहरूको उपस्थिति पनि चर्चाको विषय बनेको छ । उनीहरूलाई समेटेर गरिएको यो प्रस्तुति फिल्मको प्रचारका लागि प्रभावकारी हुनुपर्ने थियो । तर, पूर्वजानकारीबिनाको यस्तो शैलीले कलाकारहरूको प्रतिष्ठा र निर्माण टिमको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ ।
निर्माण टिमले दर्शकलाई केही समयका लागि झुक्याएर फिल्मप्रति चासो जगाउन खोज्यो । तर, दर्शकले पनि उक्त प्रस्तुतिलाई सहज रूपमा स्वीकार गरेनन् । बरु, प्रचारको उद्देश्य, प्रहरीको भूमिका र निर्माण पक्षको जवाफदेहितामाथि प्रश्न उठाउँदै उल्टै टिमलाई नै कठघरामा उभ्याइदिए ।
फिल्मको प्रचारका लागि सिर्जना गरिएको पक्राउको दृश्यले चर्चा त बटुल्यो, तर त्यो चर्चा फिल्मको पक्षमा भन्दा आलोचनाको पक्षमा बढी देखियो । दर्शकलाई झुक्याएर हाइप बनाउने योजना अन्ततः निर्माण टिमकै लागि उल्टो पासो बनेको छ ।
मनोज गुरुलले लामो स्टाटस नै लेखेर प्रचारका लागि गरिएको निर्णय गलत भएको भन्दै माफी मागेका छन् ।
कतिपय मेकरले सिनेमाको प्रचारशैलीप्रति सिधै दुखद् भनेका छन् । कतिले व्यंग्यात्मक रुपमा आलोचना गरेका छन् । केहीले चाहिँ पाँच पाण्डव’ले दर्शक झुक्याउन खोज्दा आफैँ समस्यामा परेको भन्दै उक्त घटनाबाट पनि पाठ सिक्न नसकेको भन्दै गाली गरेका छन् ।
आखिर फिल्मको प्रचार भनेको दर्शकको विश्वास जित्ने माध्यम हो कि केही समयका लागि उनीहरूलाई भ्रममा पार्ने खेल ? ‘ककाकिकी’को यो घटनाले नेपाली फिल्म क्षेत्रमा प्रचारका नाममा अपनाइने शैलीबारे फेरि एकपटक बहस जन्माएको छ ।


