प्रिन्सीको भाग्य ! सुरुमै पुगिन् मुकाम, भविष्य आफ्नै अक्कलमा

काठमाडौं । सबैको भाग्य प्रिन्सी खतिवडाको जस्तो हुँदैन, केही सीमित मात्रै उनी जस्ता भाग्यमानी हुन्छन् ।

टिकटकबाट म्युजिक भिडियोमा फड्को मारिन् । म्युजिक भिडियोबाट सिनेमामा । सिनेमामा पनि उनको डेब्यू यस्तो सम्झनलायक बन्यो कि, पहिलो ब्यानर नै लोभलाग्दो भेटिन् ।

भुवन केसीको निर्देशन र अनमोल केसी को–एक्टर भेट्नु भाग्य नै हो । कमर्सियल सिनेमालाई आफ्नो करियर बनाउन खोज्नेहरुका लागि यो सायद अन्तिम मुकाम हो । तर, प्रिन्सीको भाग्यमा सुरुमै अनमोल र भुवन आइपुगे । उनी सुरुमै मुकाममा पुगिन् । अब के गर्ने, कस्तो ब्यानर र कस्तो को–एक्टर खोज्ने उनको अक्कलमा भरपर्नेछ । र, त्यसैले उनको सिने करियर बुस्ट गर्ने कि ओइलाउने निर्धारण गर्नेछ ।

चलचित्र ‘बाटुलो जून’मार्फत प्रिन्सीले सिनेमामा डेब्यु गरिन् । टिकटकबाट उदाएर सयौँ म्युजिक भिडियोमा काम गरेकी उनी ‘बाटुलो जून’मा अनुबन्ध भएको खबरले धेरैलाई अचम्ममा पारेको थियो ।

म्युजिक भिडियामा उनलाई सयौँपटक क्यामेरा फेसको अनुभव थियो । तर, उनकै शब्दमा डाइलग बोलको धेरै अनुभव थिए । त्यसैले प्रिन्सीले ‘बाटुलो जून’मा कसरी काम गर्छिन् होला भन्ने धेरैलाई आशंका थियो । तर, त्यो आशंका ट्रेलर बजारमा आइपुग्दै उनले धेरै हदसम्म दूर गरिसकेकी थिइन् ।

सिनेमा रिलिज भपछि सुरुको आशंका रहेन । प्रिन्सीको अभिनयको खुलेरै प्रशंसा भयो । अनमोलभन्दा पनि प्रिन्सीको अभिनयको धेरैले यतिबेला तारिफ गरिरहेका छन् । एक सशक्त अभिनेत्री सिनेमा उद्योगले पाएको धेरैको भनाइ छ ।

डेब्यू सिनेमामा नै प्रिन्सीले ठूलो ब्यानरमा काम गर्ने मौका पाइन् । अनमोल केसीजस्तो स्टारसँग पहिलो सिनेमामा नै को–एक्टर भएर काम गर्ने मौका पाइन् । जसका सिनेमा प्रायः बक्सअफिसमा असफल हुँदैनन् ।

अहिले पनि त्यस्तै भयो । ५ दिनमा करिब ६ करोड नजिक कमाएको निर्माण टिमले बताइरहेको छ । यसले देखायो, प्रिन्सीको पहिलो सिनेमा नै हिट । यसले सफल अभिनेत्रीको ट्याग उनले पाउँदैछिन् ।

यदि, प्रिन्सीले राम्रो अभिनय गरे पनि कमजोर ब्यानरबाट डेब्यु भएको भए उनको क्षमता धेरैलाई थाहै हुँदैन थियो । त्यस्तो अवस्थामा न उनको काम धेरैले हेर्न पाउँथे, न उनको क्षमताको मूल्यांकन नै हुन्थ्यो । न, त्यसले उनको सिने करियरलाई सागथ दिन्थ्यो । बरु उल्टै फ्ल्प नायिकाको ट्याग बोकेर हिँड्नु पर्थ्यो ।