छायांकनमा जाने तयारी रहेको ‘पच्चीस पच्चीस’को लाइनअप पूरा, को-को छन् कलाकार ?

काठमाडौं । रङ्गपत्रकारिता र म्युजिक भिडियो निर्देशनमा लामो समयदेखि सक्रिय सुब्रत आचार्यको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘पच्चीस पच्चीस’को कलाकार लाइनअप पूरा भएको छ । गत साउनमा औपचारिक निर्माण घोषणा गरिएको चलचित्र अब छिट्टै छायांकनमा जाने तयारीमा छ ।

कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा अभिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय रहनेछ । दार्जिलिङका चर्चित कमेडियन तथा कन्टेन्ट क्रिएटर भक्ते भाइले यसै चलचित्रमार्फत अभिनयमा डेब्यु गर्दैछन् ।

‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ जस्ता व्यावसायिक चलचित्र निर्देशन गरिसकेका आचार्यले ‘पच्चीस पच्चीस’मार्फत निर्देशनमा ह्याट्रिक गर्ने तयारी गरेका छन् । निर्माण पक्षका अनुसार चलचित्रले भरपूर मनोरञ्जनसँगै उत्कृष्ट सामाजिक–कमेडी कथा प्रस्तुत गर्नेछ । निर्देशक आचार्यले चलचित्र नेपाली माटो सुहाउँदो हुने बताएका छन् ।

सामाजिक–कमेडी विधामा निर्माण हुने चलचित्रको कथा सुब्रत आचार्य र जयाले संयुक्त रूपमा लेखेका हुन् भने पटकथा सुशील देवकोटाको रहेको छ ।

चलचित्रका निर्माता कर्ण कार्की हुन् । गत वर्ष चलचित्र ‘होस्टेल ३’मार्फत निर्माणमा प्रवेश गरेका कार्कीको यो दोस्रो चलचित्र हो । दीपेन्द्र गौतम कार्यकारी निर्माता रहेको चलचित्रमा धीरेन्द्र लाल कर्ण र मणिराज खड्का सह–निर्माता छन् । त्यस्तै, सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेलले लाइन प्रोड्युसरको जिम्मेवारी सम्हाल्नेछन् ।

चलचित्रको छायांकन हरि हुमागाईंले गर्नेछन् ।