नाटक ‘वीर गणेशमान’ पुनः मञ्चन हुँदै
काठमाडौं । नाटक ‘वीर गणेशमान’ फेरि मञ्चन हुने भएको छ । मञ्चन सुरु भएको केही दिनमै भोटेकोशीमा आएको बाढीका रोकिएको नाटक पुनः मञ्चन हुने भएको हो ।
पुनः मञ्चनको तयारीसँगै निर्माण पक्षले नाटकको औपचारिक ट्रेलरसमेत युट्युबमार्फत सार्वजनिक गरिएको छ । सामान्यतया नाटकको ट्रेलर निर्माण गरी सार्वजनिक गर्ने चलन कमै भए पनि ‘वीर गणेशमान’को ट्रेलर भने औपचारिक रूपमा तयार पारेर दर्शकमाझ ल्याइएको हो ।
गणेशमान सिंह फाउन्डेसनको आयोजना र सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकको परिकल्पना, नाट्य रूपान्तरण तथा निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गरेका हुन् ।
नाटक मंसिर ४ गतेदेखि १९ गतेसम्म कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन गरिनेछ । नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुने र शनिबार भने दिउँसो १ बजे अतिरिक्त शोसमेत राखिएको छ ।
सत्ता र शक्तिका अगाडि कहिल्यै नझुकेका क्रान्तियोद्धा गणेशमान सिंहको जीवन र सङ्घर्षमा आधारित नाटकले १०३ वर्ष लामो राणाशासनविरुद्ध नागरिक अधिकारका लागि उनले देखाएको साहस र योगदानलाई प्रस्तुत गर्छ । जन्मकैदको सजाय पाएका गणेशमान भद्रगोल जेलबाट भागेको घटना तथा २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री पद अस्वीकार गरेको ऐतिहासिक प्रसङ्गलाई नाटकमा समेटिएको छ ।
नाटकको स्क्रिप्ट सम्पादन प्रा. डा. सावित्री कक्षपतिले गरेकी हुन् । करिब दुई घण्टा लामो नाटकमा निर्देशक मल्लले आफ्नो ५० वर्षे नाट्ययात्रामै पहिलोपटक बिम्ब र प्रतीकको शैलीभन्दा फरक रहेर यथार्थपरक प्रस्तुति दिएका छन् ।
नाटकमा गणेशमान सिंहको भूमिकामा अभिनेता अभयराज बराल छन् । यसअघि मञ्चन हुँदा उनको अभिनयले निकै प्रशंसा पाएको थियो । दर्शकले उनको अनुहारमा गणेशमान सिंहकै आकृति झल्किएको प्रतिक्रिया दिएका थिए ।
नाटकमा नुषा लिङ्देन लिम्बू, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभ सिंह कार्की, निश्चल डी इन्फिनिटी, रमेश वज्राचार्य, प्रदीप भट्ट, अरमान शाही, अनिश बोगटी, शिशिर घर्ती मगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार र रोलेक्स राईको पनि अभिनय रहेको छ ।


