‘मोहनी’को छायांकन चितवनबाट सुरु

काठमाडौं । एक्सन लभ स्टोरी विधामा निर्माण हुने फिल्म ‘मोहनी’को छायांकन चितवनबाट सुरु भएको छ । विजय ब्लोन तामाङको निर्माण तथा गोविन्द सिंह भण्डारीको निर्देशनमा बन्न लागेको यो फिल्म एक्सन र प्रेमकथामा आधारित हुनेछ ।

मोभिरा इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन ६० दिनसम्म चल्ने निर्माता विजयले जानकारी दिए । उनका अनुसार चितवनबाट सुरु भएको छायाङ्कन मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौंलगायतका रमणीय स्थानमा गरिनेछ ।

फिल्ममा आशिर्वाद क्षेत्री, सनिशा भट्टराई, सरोज खनाल, निमा पाण्डे, विजय ब्लोन, देवकुमार श्रेष्ठ, रञ्जना भट्टराई, रिस्ता अधिकारी, कर्मा लामा, सुरक्षा इटनी, उत्पल झा लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्मको कथा विजय ब्लोन तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद सामीप्यराज तिमल्सेनाको रहेको छ । फिल्मका निर्माता पनि विजय नै हुन् ।

फिल्ममा महेश पौडेलको छायांकन, सम्राट बस्नेतको द्वन्द्व निर्देशन तथा विक्रम स्वार र किरण थापाको नृत्य निर्देशन रहनेछ ।