अमेरिकाको ड्यालसमा ‘प्रेम अध्याय’को विशेष प्रदर्शन, दर्शकबाट सकारात्मक प्रतिक्रिया

काठमाडौं । नेपाली चलचित्र ‘प्रेम अध्याय’को अमेरिकाको टेक्ससस्थित ड्यालसमा विशेष प्रदर्शन गरिएको छ । विदेशमा रहेका नेपाली समुदायमाझ नेपाली चलचित्र पुर्‍याउने उद्देश्यले आयोजना गरिएको विशेष शो इर्भिङ मलस्थित एएमसी थिएटरको अडिटोरियममा सम्पन्न भएको हो ।

नोभेम्बर १५ मा आयोजित विशेष प्रदर्शनमा चलचित्रका कलाकार सरोज खनाल र रामशरण चौधरी सहभागी थिए । प्रेम र सम्बन्धका भावनात्मक पक्षसँगै एक्सनलाई समेत समेटिएको चलचित्रले दर्शकलाई फरक स्वाद दिएको छ । प्रदर्शनपछि दर्शकबाट चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ ।

चितवनका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको चलचित्रमा रामशरण चौधरी र ऋचा थापा मुख्य भूमिकामा छन् । उनीहरूसँगै सरोज खनाल, मुकुन्द श्रेष्ठलगायत कलाकारको पनि अभिनय रहेको छ ।

किशोर चौधरीको लेखन तथा निर्देशनमा बनेको चलचित्रका निर्माता किरण चौधरी हुन् । चलचित्रको छायांकन विष्णु परियारले गरेका छन् भने निर्माण नियन्त्रकको जिम्मेवारी मेसमान श्रेष्ठ र प्रणवले सम्हालेका छन् ।

निर्माण टिमका अनुसार चलचित्र ‘प्रेम अध्याय’लाई छिट्टै नेपालमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको छ ।