मंसिर ४ गतेदेखि पुनः मञ्चन हुने नाटक ‘वीर गणेशमान’को ट्रेलर सार्वजनिक
काठमाडौं । भोटेकोसीमा आएको बाढीका कारण केही दिनमै मञ्चन रोकिएको नाटक ‘वीर गणेशमान’ फेरि मञ्चन हुने भएको छ ।
मंसिर ४ गतेदेखि १९ गतेसम्म कालिकास्थानको सर्वनाम थिएटरमा नाटक मञ्चन गरिनेछ । मञ्चनअघि निर्माण पक्षले नाटकको औपचारिक ट्रेलर पनि युट्युबमा सार्वजनिक गरेको छ ।
गणेशमान सिंह फाउण्डेसनको आयोजना र सर्वनामको प्रस्तुतिमा तयार भएको नाटकको परिकल्पना, नाट्यरूपान्तरण र निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लको हो । नाटकमा सामान्यतया ट्रेलर बन्ने र सार्वजनिक गरिने चलन विरलै हुने भए पनि यसको ट्रेलर औपचारिक रूपमै तयार गरी दर्शकका लागि युट्युबमा राखिएको हो ।
नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५ बजे प्रदर्शन हुनेछ। शनिबार दिउँसो १ बजे अतिरिक्त शो राखिएको छ ।
सत्ता र शक्तिका अगाडि नझुकेका क्रान्तियोद्धा गणेशमान सिंहको जीवन र संघर्षमा आधारित नाटकले १०३ वर्ष लामो राणाशासनविरुद्ध नागरिक अधिकारका लागि उनले देखाएको साहसलाई प्रस्तुत गर्छ ।
जन्मकैदको सजाय पाएका गणेशमान भद्रगोल जेलबाट भागेको घटना र २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्रीको पद त्यागेको ऐतिहासिक क्षण नाटकमा समेटिएको छ ।


