दुई वर्षपछि फिल्ममा फर्किए निश्चल खड्का, सोफीसँग जोडी

काठमाडौं । डेब्यू फिल्म ‘लण्डन टु पेरिस’बाट अभिनयमा सम्भावना देखाएका अभिनेता निश्चल खड्का नयाँ फिल्ममार्फत ठूलो पर्दामा फर्किएका छन् । झन्डै दुई वर्षको अन्तरालपछि उनी फिल्म ‘अरिङ्गाल’मा देखिन लागेका हुन् ।

बिहीबारदेखि पर्वतको राम्जा क्षेत्रमा फिल्मको छायांकन सुरु भएको छ । फिल्ममा निश्चलको जोडी अभिनेत्री सोफी धरेलसँग बाँधिएको छ । सोफीका लागि भने यो दोस्रो फिल्म हो । उनले यसअघि ‘जुबा’मा अभिनय गरेकी छन् । यद्यपि, उक्त फिल्म प्रदर्शनमा आउन बाँकी छ । फिल्ममा प्रवेश गर्नुअघि उनले केही म्युजिक भिडियोमा समेत काम गरेकी थिइन् ।

ट्रु इन्टरटेनर्सको ब्यानरमा निर्माण भइरहेको फिल्मको निर्देशन अमृतो स्वामीले गरिरहेका छन् । प्रेम भोम्जन (पुष्कर लामा) फिल्मका लाइन प्रोड्युसर हुन् । राम्जामा छायांकन सकेपछि निर्माण टोली काठमाडौं उपत्यकामा पुग्नेछ । त्यहाँ करिब एक महिना फिल्म खिच्ने तयारी छ ।

फिल्मका अन्य कलाकार तथा प्राविधिकको विवरण निर्माण पक्षले सार्वजनिक गरेको छैन । कथावस्तु पनि गोप्य राखिएको छ । यद्यपि, ‘अरिङ्गाल’ शीर्षकले फिल्ममा एक्सन र प्रेमको मिश्रण रहने संकेत गरेको छ ।