चलचित्र संघको अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित

काठमाडौं । नेपाल चलचित्र संघको नयाँ नेतृत्वमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन् । शनिबार ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न संघको ५२औँ साधारण सभाबाट उनी आगामी तीन वर्षका लागि अध्यक्षमा चुनिएका हुन् ।

अध्यक्ष पदका लागि भएको निर्वाचनमा जबराले गोपालकाजी कायस्थलाई १६ मतको अन्तरले पराजित गरे । कुल ९० मतमध्ये जबराले ५३ मत प्राप्त गर्दा कायस्थले ३७ मत मात्रै पाए । जबरा नयाँ बानेश्वरस्थित वान् सिनेमाजका सञ्चालकसमेत हुन् ।

नयाँ कार्यसमितिको सदस्यमा खुलातर्फ आशिष तामाङ, दुर्गालाल प्रधान, मिजास पोखरेल र योगेन्द्र मल्ल ठकुरी निर्विरोध चयन भएका छन् । त्यस्तै, वितरक सदस्यमा करण श्रेष्ठ र गोविन्दबहादुर शाही पनि निर्विरोध निर्वाचित भए ।

प्रदेशगत प्रतिनिधित्वतर्फ कोशी र मधेशबाट चैतन्य बराल तथा बागमतीबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ निर्विरोध चयन भएका छन् । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्यमा कर्णालीका डाक्टर सिंह गुरुङ चयन भएका छन् ।

संघको विधानअनुसार अब निर्वाचित सदस्यहरूबीच सहमति जुटाएर प्रथम उपाध्यक्षदेखि महासचिवसम्मका पदाधिकारी चयन गरिनेछ ।

सन् १९५६ अर्थात् २०१३ सालमा स्थापना भएको नेपाल चलचित्र संघ हल सञ्चालक तथा फिल्म वितरकहरूको साझा संस्था हो । नेपाल मोसन पिक्चर्स एसोसिएसन (नेम्पा) नामले समेत परिचित यस संस्थाको पहिलो अध्यक्ष भुवनेश्वर अमात्य थिए । यसअघि प्रदीपकुमार उदय, मधुसूदन प्रधान, वीरेन्द्रनारायण श्रेष्ठ र नरेन्द्र महर्जनलगायतले संघको नेतृत्व गरिसकेका छन् ।