माघ १ बाट फागुन १४ मा पुग्यो ‘आशा’, फर्स्टलुक पोस्टर सार्वजनिक
काठमाडौं । पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘आशा’ले प्रदर्शन मिति परिवर्तन गर्दै फागुन १४ गतेलाई नयाँ मिति तय गरेको छ । प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले चलचित्रको फर्स्टलुक पोस्टरसमेत सार्वजनिक गरेको छ ।
रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा एउटा घरभित्रको दृश्यलाई प्राथमिकता दिइएको छ । पोस्टरमा अभिनेता शुशांक मैनालीको तस्बिरमा फूलमाला चढाइएको छ भने महेश त्रिपाठी किरियापुत्रीको भूमिकामा देखिन्छन् । आशान्त शर्मा पण्डितको भेषमा छन् । अभिनेत्री अञ्जना बराइली भने घरको ढोकाबाट भित्र चिहाइरहेको अवस्थामा प्रस्तुत छिन् । पोस्टरको यो दृश्यले फिल्मको कथावस्तुलाई लिएर दर्शकमाझ विभिन्न जिज्ञासा सिर्जना गरेको छ ।
निर्मात्री शर्मिला थापाका अनुसार चलचित्रको कथाको भाव झल्किने गरी पोस्टर तयार पारिएको हो । उनले ‘आशा’ पारिवारिक परिवेशमा आधारित विषयप्रधान फिल्म भएको बताउँदै सबै उमेर समूहका दर्शकले हेर्न सक्ने विश्वास व्यक्त गरिन् । चलचित्रले दर्शकलाई मनोरञ्जनसँगै विषयवस्तुबारे सोच्न बाध्य बनाउने उनको भनाइ छ ।
चलचित्रको प्रदर्शन मिति आगामी फागुन १४ गतेलाई तय गरिएको छ । वितरक तथा प्रदर्शकको छलफल पश्चात उक्त डेटमा प्रदर्शन गर्न लागिएको निर्मात्री थापाले बताइन् । यसअघि टिमले निर्माणको घोषणा गर्दै यो चलचित्रलाई माघ १ गते प्रदर्शन गर्ने घोषणा गरेको थियो ।
निर्देशक राजिव गुरुङको कथा तथा निर्देशनमा तयार भएको चलचित्रमा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ ।
चलचित्रको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो । चलचित्रमा स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र एसडी योगी, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।
यस्तै, चलचित्रमा मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।




