‘पच्चीस पच्चीस’को छायांकन सुरु, दार्जिलिङका चर्चित ‘भक्ते भाई’ नेपाली रजतपटमा डेब्यु गर्दै
काठमाडौं । सुब्रत आचार्यको निर्देशनमा बन्न लागेको सामाजिक हास्य चलचित्र ‘पच्चीस पच्चीस’को छायांकन सुरु भएको छ । बुधबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गर्दै निर्माण टिमले चलचित्रको शुभ मुहूर्त गरेको हो ।
कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको मुहूर्तसँगै छायांकन थालिएको निर्देशक आचार्यले जानकारी दिए । उनका अनुसार चलचित्रको सम्पूर्ण छायांकन ४० दिनभित्र पूरा गर्ने योजना छ ।
चलचित्रमा अबिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय रहनेछ । दार्जिलिङका चर्चित हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बाले यसै चलचित्रमार्फत अभिनयमा डेब्यु गर्दैछन् ।
‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका सुब्रत आचार्यको यो तेस्रो निर्देशकीय चलचित्र हो । चलचित्रको कथा सुब्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा लेखनको जिम्मेवारी सुशील देवकोटाले गरेका हुन् । चलचित्रको छायांकन हरि हुमागाईंले गर्नेछन् ।
कर्ण कार्कीको निर्माण रहने चलचित्रका कार्यकारी निर्माता दिपेन्द्र गौतम हुन् । त्यस्तै, धिरेन्द्र लाल कर्ण र मणिराज खड्का सह-निर्माताका रूपमा छन् । सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेलले लाइन प्रोड्युसरमा छन् ।




