रक-पपभन्दा फरक सांगीतिक स्वाद पस्किँदै ‘सुरताल’, एउटै मञ्चमा प्रमोद, प्रकाश र फिरन्ते
धरान । धरानमा पछिल्लो समय रक तथा पप संगीतका लाइभ कन्सर्टको आकर्षण बढ्दो छ । यही सांगीतिक माहोलबीच फरक विधाका संगीतप्रेमीलाई समेत एकै ठाउँमा जोड्ने उद्देश्यसहित ‘सुरताल म्युजिकल टूर’ आयोजना हुने भएको छ ।
आगामी मङ्सिर २५ गते शुक्रबार धरान रंगशालामा हुने कार्यक्रममा गायक प्रमोद खरेल, प्रकाश सपूत र फिरन्ते ब्यान्डले एकसाथ प्रस्तुति दिनेछन् । आधुनिक गीत, लोकलय र ब्यान्ड संगीतको संगम बन्ने यो कार्यक्रममा दर्शकले एउटै मञ्चबाट फरक–फरक सांगीतिक स्वाद लिन पाउनेछन् ।
कार्यक्रममा प्रमोदले आफ्ना चर्चित आधुनिक तथा प्रेमिल गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् । ‘ओइ झुमा’, ‘मबिना कसै कसैलाई’, ‘म बाँचे कै तिमीसँग’ र ‘यो कुरा गोप्य’ उनका प्रस्तुतिमा समेटिने लोकप्रिय गीत हुन् ।
त्यस्तै, लोकसंगीतलाई नयाँ पुस्तामाझ लोकप्रिय बनाउन सफल प्रकाश सपूतले ‘गलबन्दी’, ‘बोल माया’, ‘पीर’ र ‘सकम्बरी’ लगायतका चर्चित गीत प्रस्तुत गर्नेछन् । फिरन्ते ब्यान्डले पनि ‘बूढो भैयो’, ‘मनभरी माया छ’ र ‘मुस्कान बनी ओठमा आइदेऊ’ जस्ता गीतमार्फत माहोल तताउने अपेक्षा गरिएको छ ।
आयोजकले धरानमा प्रायः रक–पप केन्द्रित कार्यक्रम भइरहेका बेला फरक सांगीतिक विधालाई एउटै मञ्चमा प्रस्तुत गर्न लागेको जनाएको छ । आधुनिक गीत सुन्न रुचाउनेदेखि लोकभाकामा रमाउने र ब्यान्ड संगीतका पारखीलाई समेत समेट्ने गरी कार्यक्रमको अवधारणा तयार गरिएको हो ।
यसपटक टिकटको मूल्यलाई पनि तुलनात्मक रूपमा सस्तो राखिएको छ । आयोजकका अनुसार एक जनाका लागि ३०० रुपैयाँ र दुई जनाका लागि ५०० रुपैयाँमा टिकट उपलब्ध हुनेछ। टिकट इसेवामार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
फरक सांगीतिक रुचि भएका दर्शकलाई एउटै मञ्चमा जोड्ने प्रयासका रूपमा हेरिएको ‘सुरताल म्युजिकल टूर’ ले धरानको सांगीतिक माहोलमा नयाँपन थप्ने अपेक्षा गरिएको छ ।




