मंसिर २५ देखि छायांकनमा जाने ‘एक्का-३’को शुभमुहूर्त, पूजा र कविता एकसाथ देखिँदै
काठमाडौं । चलचित्र ‘एक्का–३’को शुभमुहूर्त गरिएको छ । पूजा शर्मा, सुशील श्रेष्ठ र कविता नेपालीको मुख्य भूमिका रहने सिनेमाको बिहीबार ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजाआजा गर्दै औपचारिक रूपमा निर्माण प्रक्रिया सुरु गरिएको हो ।
रुपेश तामाङको निर्देशनमा बन्न लागेको चलचित्रमा पूजा, सुशील र कवितासँगै आयशा तामाङ पनि देखिनेछिन् । यसै सिनेमामार्फत आयशाले नेपाली सिनेक्षेत्रमा डेब्यु गर्न लागेकी हुन् ।
शुभमुहूर्त कार्यक्रममा पूजा शर्मा र कविता नेपाली मात्र उपस्थित थिए ।
निर्देशक तामाङका अनुसार सिनेमाको छायांकन आगामी मंसिर २५ गतेदेखि सुरु हुनेछ । काठमाडौं र चितवनमा छायांकन हुने चलचित्र ‘एक्का–३’लाई सन् २०२७ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
जुना फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा रामकृष्ण खरेल र दीपेन्द्रराज तामाङ निर्माता तथा राजु श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् ।
दुई श्रृंखलामा निर्माण हुने बताइएको यस चलचित्रमा मुख्य कलाकारसँगै बुद्धि तामाङ, सानिया खान, राजीवजंग बस्नेत, दीपक थापा, काली राना, विनोद श्रेष्ठ, ध्रुव कोइराला, अरविन्द गुरुङ, गौरव लामा, नवराज दुलाल ‘झाँक्री’, सावित्री चिलुवाल, दीक्षेन तामाङ र जयलाल दंगीलगायतको अभिनय रहनेछ ।
चलचित्रको छायांकन सौरभ लामाले गर्ने चलचित्रमा सुमन गजमेरको कथा तथा पटकथा लेखन अर्जुन पोखरेल र सन्तोष प्रगाढको संगीत साहिल खानको सम्पादन तथा ट्रेलर, राजु किरतको एक्सन निर्देशन रहनेछ ।
निर्देशक तामाङले यसअघि ‘जय भोले’ र ‘दान्भी’को निर्देशन गरिसकेका छन् । यी दुवै सिनेमा एक्सनप्रधान थिए ।





