‘सारथी’ र ‘ककाकिकी’को एडभान्स बुकिङ खुल्यो, कसले कति शो पाए ?

काठमाडौं । प्रदर्शनको तयारीमा रहेका दुई नेपाली चलचित्र ‘सारथी’ र ‘ककाकिकी’को एडभान्स बुकिङ खुला भएको छ । देशका प्रमुख मल्टिप्लेक्स हलहरूले दुवै चलचित्रका लागि अग्रिम टिकट बिक्री सुरु गरेका हुन् ।

एडभान्स बुकिङ खुला भएसँगै दुवै चलचित्रले प्रारम्भिक चरणमा पाएका शो संख्या पनि सार्वजनिक भएको छ । उपलब्ध विवरणअनुसार कुमार गजुरेल निर्देशित ‘सारथी’ले ५० भन्दा बढी शो पाउँदा बिक्की अग्रवाल र श्रद्धा प्रसाईं निर्देशित ‘ककाकिकी’ले ८४ शो पाएको छ ।

‘सारथी’को बुकिङ क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाज र बिग मुभिजलगायतका प्रमुख मल्टिप्लेक्समा खुलाइएको छ । त्यस्तै, ‘ककाकिकी’को पनि क्यूएफएक्स, वान सिनेमाज र आईएनआई सिनेमाजलगायतका हलमा अग्रिम टिकट बिक्री सुरु भएको छ । खल्ती एपमा उपलब्ध विवरणअनुसार ‘ककाकिकी’का लागि ८४ शो उपलब्ध छन् ।

शो संख्याको प्रारम्भिक विवरण हेर्दा ‘ककाकिकी’ले ‘सारथी’भन्दा बढी शो पाएको देखिन्छ । यद्यपि, प्रदर्शनको मिति नजिकिँदै जाँदा हल र शो संख्यामा थपघट हुन सक्नेछ ।

कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेको ‘सारथी’मा निरुता सिंह, उत्तम प्रधान, गायत्री जोशी र गिरी विश्वकर्मालगायत कलाकारको अभिनय छ । विशेषगरी लामो समयपछि निरुता र उत्तमको जोडीलाई एउटै पर्दामा देख्न पाउनु चलचित्रको प्रमुख आकर्षण बनेको छ । म्याग्दीको गुर्जा गाउँको परिवेशमा निर्माण भएको चलचित्रले स्थानीय जनजीवन र मानवीय सम्बन्धको कथा प्रस्तुत गर्छ ।

यता ‘ककाकिकी’मा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङलगायत कलाकारको अभिनय छ । बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशन रहेको चलचित्रकी निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन् ।

दुवै चलचित्रले एडभान्स बुकिङमा पाएको शो संख्याले प्रारम्भिक प्रदर्शनको अवस्था देखाए पनि दर्शकको वास्तविक आकर्षण भने अग्रिम टिकट बिक्री र प्रदर्शनपछिको अकुपेन्सीबाट थप स्पष्ट हुनेछ ।