पहिलोपटक इटहरीमा गुञ्जिँदै आतिफ अस्लम
काठमाडौं । काठमाडौंमा मात्र सीमित हुँदै आएका अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रम अब पूर्वी नेपालमा पनि विस्तार हुने भएको छ । पाकिस्तानी चर्चित गायक आतिफ अस्लम पहिलोपटक सुनसरीको इटहरीमा प्रस्तुत हुने भएका छन् ।
जय मिडिया म्यानेजमेन्टले आगामी पुष ४ गते इटहरी रंगशालामा आयोजना गर्न लागेको ‘इस्टर्न इकोज’ कन्सर्टमा आतिफले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् । कार्यक्रममा उनले पुराना सदाबहार गीतसँगै पछिल्ला सिर्जनासमेत प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
‘वो लम्हे, वो बाते’, ‘पहेली नजर मे’, ‘तु जाने ना’ र ‘तेरे होने लगा हुँ’ जस्ता चर्चित गीतका गायक आतिफको प्रस्तुति हेर्न र सुन्न पूर्वी नेपालका संगीतप्रेमी उत्साहित हुने अपेक्षा गरिएको छ ।
आयोजक जयराज रायका अनुसार काठमाडौं बाहिर पनि अन्तर्राष्ट्रिय स्तरका ठूला सांगीतिक कार्यक्रम सफलतापूर्वक आयोजना गर्न सकिन्छ भन्ने सन्देश दिन इटहरीलाई रोजिएको हो । सीमावर्ती भारतीय सहरबाट समेत दर्शक आउने सम्भावनालाई आयोजकले कन्सर्टको महत्वपूर्ण पक्षका रूपमा लिएको छ ।
रायले भारतबाट मात्रै ८ देखि १० हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको बताए । उनका अनुसार यस कार्यक्रमले पूर्वी नेपालको पर्यटन प्रवर्द्धनसँगै होटल, रेस्टुरेन्ट तथा स्थानीय व्यवसायमा समेत सकारात्मक प्रभाव पार्नेछ ।
कन्सर्टका लागि दर्शकले खल्ती एपमार्फत अनलाइनबाटै टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।





