राष्ट्रिय नाटक महोत्सव आयोजना हुँदै, प्रथमलाई एक लाख
काठमाडौं । हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले राष्ट्रिय नाटक महोत्सव आयोजना गर्ने भएको छ । अभिनेता, रंगकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल र सञ्चारकर्मी समेत रहेकी उनकी पत्नी कल्याणी रिमालको नाममा रहेको प्रतिष्ठानले काठमाडौंमा महोत्सव गर्ने भएको हो ।
प्रतिष्ठानका सदस्य सचिव एवं अभिनेता, रंगकर्मी सम्राट सापकोटाले जानकारी दिए । उनका अनुसार महोत्सव राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भदौ ३० गते सुरु हुनेछ । र, असोज २ गते समापन हुनेछ ।
महोत्सवमा ६ वटा नाटक प्रदर्शन हुनेछन् । पहिलो हुने नाटकलाई पुरस्कारस्वरुप एक लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजार प्रदान गरिनेछ ।
उत्कृष्ट निर्देशक, अभिनेता र अभिनेत्रीलाई जनही १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
कलाकर्मी र सञ्चारकर्मीलाई प्रतिष्ठानले प्रदान गर्दै आइरहेको सम्मान पनि प्रदान गरिनेछ । यसपटक २०७९ र २०८० साल गरी दुई वर्षको सम्मान एकैपटक प्रदान गरिनेछ । आठजनलाई प्रदान गरिने सम्मानको राशी ३१ र २१ हजार रुपैयाँ छ ।