यस कारण चलेन ‘रावायण’, पढ्नुस् यी ६ कारण

काठमाडौं । चलचित्र ‘रावायण’को निर्माण टिमले जुन तहमा सिनेमाको बक्सअफिस सक्सेसको अपेक्षा गरेको थियो, त्यो भएन । चलचित्रमा स्टारडम भएका भनेर प्रचार गरिएका कलाकारद्वय पल शाह र पूजा शर्मा थिए । आफूलाई लभस्टोरी सिनेमामा प्रुभ गरिसकेका निर्देशक सुदर्शन थापा थिए ।

यता, चलचित्रमा पल र पूजासँगै प्रियंका कार्की, प्रमोद अग्रहरी, र प्रकाश शाहजस्ता चर्चित कलाकारहरूको समेत अभिनय छ । तर पनि चलचित्र चलेन ।

शुक्रबार र शनिबार केही हलहरूमा दर्शकको उपस्थिति राम्रो भए पनि आइतबारदेखि व्यापारमा कमी आएको हो। यो चलचित्रको प्राप्त शोहरूमा अकुपेन्सी न्यून देखिएको छ । केही सिंगल थिएटरमा पहिलो दिन केही दर्शकको उपस्थिति रह्यो । त्यसकै भिडियो निर्माण टिम र केही युट्युबले पोस्ट गरेर सिनेमाले आक्रमक व्यापार गरिरहेको बताए ।

यद्यपि, वास्तविकता पूरै फरक थियो । अधिकांश हलका अधिकांश शो रित्तै थिए/छन् । प्राइम टाइमका शो नै रित्तै भएपछि कसरी भन्नु सिनेमा चल्यो ? र बक्सअफिस आक्रमक छ भनेर ?

सबैको एक्ससमा नभएको त बक्सअफिस रिपोर्ट मात्रै हो, मल्टिप्लेक्सका शो र टिकट सबैको सहज एक्ससमा छन् । त्यहीँ हेर्दा थाहा हुन्छ कुन चलचित्रमा दर्शक कति छन्, कुन सिनेमाको शो रित्तै छन् भन्ने ।

अहिले पनि हेर्दा हुन्छ, टिकट बिक्रीको अवस्था कस्तो छ । गुगलमा जाने, कुन मल्टिप्लेक्स टिकट हेर्न चाहेको हो, सर्च गर्ने । कुन फिल्मको अग्रिम टिकट बुकिङ कस्तो छ हर्नलाई एक क्लिक गरे छर्लंगै देखिन्छ । न कसैलाई सोध्नु पर्छ, न अरुको लहलहैमा लागेर होला त भनेर विश्वास गरिदिनु नै पर्छ ।

हेर्नुस्, यी यस्तो देखिन्छ :–

सुरुवातमा ‘रावायण’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले केही विभत्स दृश्य र अपाच्य संवादका कारण १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नपाउने गरी ‘एडल्ट सर्टिफिकेट’ दिएको थियो । जसले गर्दा यो उमेर समूहका दर्शक र बच्चा लिएर गएका अभिभावकहरुले चलचित्र हेर्न पाएका थिएनन् ।

शुक्रबार र शनिबार कतिपय हलमा बच्चा लिएर सिनेमा हेर्न पुगेका दर्शकहरू एडल्ट सर्टिफिकेटका कारण धेरै दर्शक हलमा पुगेर पनि सिनेमा नहेरी फर्किए, यसले चलचित्रको व्यापारमा नै ठूलो असर गर्‍यो ।

खासगरी, परिवारसँग जाने दर्शकहरूको संख्या घटेको देखेर आइतबार यसको निर्माण टिमले केही दृश्यलाई ‘ब्लर’ (धमिलो) गरेर केही अपाच्य संवादमा ‘बिप’ (म्यूट) गरेपछि सेन्सर बोर्डबाट पुनः चलचित्रको ‘पीजी सर्टिफिकेट’ लिए ।

निर्माताले सेन्सर सर्टिफिकेट परिवर्तन गरेर १६ वर्षभन्दा कम उमेरका दर्शकलाई अभिभावकको साथमा सिनेमा हेर्न पाउने वातावरण सिर्जना गराएकै दिनयता पनि हलमा दर्शकको संख्या न्यून देखिएको छ।

किन चलेन त ‘रावायण’ ?

चलचित्रमा पल र पूजाको जोडी थियो । नाम चलेकै निर्देशक थिए । भारतीय टपटप गायकगायिकालाई सिनेमाका गीत गाउन लगाएका थिए । उतैको स्टुडियो प्रयोग गरेका थिए । भारतीय सिनेमाका गीतकै स्टाइलकै कोरियोग्राफी थियो । कति त स्टेप पनि । अलि प्रष्टै भन्नुपर्दा ड्रेस पनि ।

हो यहीँ त त्रुटि भयो । नेपाली भाषा थियो रावायणका गीतमा । तर टोन हिन्दी । नेपाली कलाकारका त थिए डान्समा तर स्टाइल सीमा पारीकै कताकति कपी ।

हिन्दी टोनका गीत सुन्न त हिन्दी गीत नै छँदै छन् नि एक सय एक मास्टर पिस । किन जबरजस्ती नेपाली भाषालाई हिन्दी टोनमा ढालेका गीत सुन्नुपर्यो ।

रह्यो डान्स र कोरियोग्राफीको । नेपाली चलचित्र हो गीत पनि टिपिकल नै चाहिएला नि । शब्द अनुसार माटो सुवास झल्किने डान्स नै सुहाउँछ । अमेरिकन नागरिकले नेपाली टोपी लगाउँदा उसले सहज महसुस गर्दैन रमाइलो मात्रै महसुस गर्ने हो ।

यहीँनेर कमजोरी भयो गीत र नृत्यमा । परिणाम आँखै अगाडि छ, प्रोडक्सनमा खर्च देखियो तर गीत चलेनन् ।

निर्माणपक्षले भन्यो, रामको कथा धेरैले भने हामी रावणको कथा भन्छौँ । ठिक छ, भन्न पाइयो । जति धेरै नयाँ कथा, नयाँ आइडिया भयो त्यति नै धेरै रुचाउने सम्भावना हुन्छ ।

रावणको कथा भन्न चरित्र रावण चाहियो । सुदर्शन र पूजाले रोजे पल शाहलाई । नेपाली र भारतीय नागरिकको दिमागमा बसेको रावणको छवि कस्तो छ ? हो रावण काल्पनिक पात्र नै हो । तर जब मस्तिष्कमा कुनै कुराले जबरजस्त एउटा इमेजको छाप बस्छ, त्यो कसैगरे पनि हट्दैन ।

त्यसो भए हाम्रो दिमागमा बसेको ‘रावण’को चरित्रमा कहाँनेर फिट हुन्छन् पल । न अनुवारले न जिउडालले ।

जब चरित्र नै सुहाउँदो हुँदैन भने कसरी हुन्छन् दर्शक आकर्षित । कास्टिङमै चुक्ने निर्माणपक्षले कस्तो चलचित्र बनाउला भनेर दर्शकले शंका गर्नु त ठिकै त हो ।

किनकी शंकाको सुविधा सबैलाई हुन्छ । आफ्नो खल्तीको पैसा निकालेर अरुलाई दिने कुरा हो, आधा दिन खर्चिने कुरा हो । दुईपटक त दर्शकले किन सिनेमा हेर्ने भनेर सोच्छ । सिनेमाको मेरिट र डिमेरिट त हेर्छ नै ।

दर्शक एडभान्स भइसके । कुन सिनेमामा मेकर कति जिम्मेवार भएर काम गरिरहेका छन् भनेर दर्शकले रिलिज अगाडिको पोस्टर, टिजर, गीत, ट्रेलरबाट मोटामोटी थाहा पाउँछन् ।

अनि पलको झरिहाल्ला झैँ देखिने जुँगा र दारी अनि एक कोष परबाट नै सक्कली कपाल हो कि नक्कली पहिचान गर्न सकिने विग देखेर निर्माण टिमले कति मेहनत गरेको छ भनेर अनुमान दर्शकले लगाउँदैनन् ? वर्ल्ड सिनेमा हेर्न अभ्यस्त भइसकेको दर्शकले निर्माणपक्षको यो त्रुटिलाई लापरवाही मात्रै होइन आफ्नो अपमान भएको ठान्छ । मान्छे हो नि आफ्नो अपमान हुने जानीबुझी पैसा तिरितिरि जाला त ? जाँदैन । गएनन् ।

दर्शक हलमा जाने कथा हेर्न हो, अभिनय हेर्न हो, कथ्य शैली हेर्न हो । कलाकारको अनुहार त दिनदिनै पोडकास्ट र युट्युबमा, टिकटक, फेसबुक र इन्स्टामा हेरिरहेकै छन् नि ।

अनुहार नै हेर्न हलसम्म जाने न यो समय हो । न त त्यो विघ्न स्टारडम नै छ नेपाली कलाकारको । त्यसैले सिनेमामा कथा चाहिन्छ, जसमा दर्शक अभिनय, कथ्यशैली, सिनेमेटोग्राफी, साउन्ड, कलरबाट कन्भिन्स होस् ।

होइन यति हेक्का र क्षमता नराख्ने हो भने हुने घाटा नै हो । एक वर्ष समय र करोडौैं पैसा बागमतीमै बग्ने नै हो ।