karsang
Close Me

प्रयोगवादी निर्देशक नवीन, ‘गाउँ आएको बाटो’मा के–के गरे नयाँ प्रयोग ?

काठमाडौं । नवीन सुब्बा नेपाली चलचित्र उद्योगमा त्यस्ता सीमित निर्देशकमध्ये एक हुन्, जो चलचित्रमा नयाँ प्रयोग गर्न रुचाउँछन् । र, नयाँ–नयाँ प्रयोग गरिरहन्छन् ।

दुई दशक अगाडि उनले ‘नुमाफुङ’ मार्फत नेपाली चलचित्रमा नयाँ मानक खडा गरेका थिए । त्यो मानक थियो, बलिउड फर्मुलाभन्दा पर रहेर पनि सिनेमा बनाउन सकिन्छ । आफ्नै गाउँठाउँका कथामा मौलिक सिनेमा निर्माण गर्न सम्भव छ ।

टल एन्ड हेन्डसम आर्य फेसको हिरो । बारुले कम्मर र लालुपाते ओठ भएकी गोरी सर्लक्क परेकी नायिका । बलिष्ट शरीर भएको खलनायक अनि पाँचवटा गीत, चारवटा एक्सन सिन, हिरोहिरोइनको लभ, रोमान्स, भिलेनको अवरोध अन्त्यमा हिरोको जित भएको क्लाइमेक्सवाला बलिउड फर्मुलाका सिनेमा नेपाली चलचित्र उद्योगमा चलिरहेका बेला पूर्वी पहाडको एक लिम्बु समुदायको कथामा नवीनले सिनेमा बनाए । जसले नेपाली चलचित्र उद्योगमा सिनेमाको कथा नयाँ तरिकाले पनि भन्न सकिनेरहेछ भन्ने जानकारी दियो ।

गाउँमा पनि सिनेमाका कथा रहेछन् र त्यसमै कथा बनाउन सकिनेरहेछ भनेर सन्देश दियो । आफ्नै कथामा पनि नेपाली सिनेमा बन्दा रहेछन् भन्ने मेकरलाई ज्ञान पनि बाँड्यो ।

यो चलचित्र त्यो समय राम्रै चल्यो । नेपालमा मात्रै चलेन । इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि गयो । थुप्रै फिल्म फेस्टिभलमा पुगेर नेपाल र नेपाली सिनेमाको प्रतिनिधित्व पनि गर्यो । त्यसो त त्योभन्दा अगाडि नै चलचित्र ‘खाङ्ग्री’ इन्टरनेसनल फिल्म फेस्टिभलमा पुगेको थियो । जुन निजी क्षेत्रबाट विदेश जाने पहिलो नेपाली सिनेमा थियो । तर त्यो सिनेमा पनि नवीन कै थियो ।

नवीनले सुरुमा आफ्नै माटोका कथामा चलचित्र बनाउन सकिन्छ, आफ्नै गाउँ टोलका कथा सिनेमामा देखाउन सकिन्छ भनेर प्रयोग गरे । उनैले हो सिनेमाको वर्कसप गर्नुपर्छ भनेर सुरु गरेको पनि ।

छायांकनमा जानु अगाडि सिनेमाको टिम बसेर पूर्वअभ्यास र छलफल गर्दा सुटिङमा सजिलो र छिटो हुन्छ तथा कतिपय कुरा पहिला नै प्रष्ट हुन्छ भनेर उनले सिनेमाको वर्कसप सुरु गरेका थिए । अहिले वर्कसपविना सायदै सिनेमा छायांकनमा जान्छन् ।

उनै नवीनले हो कास्टिङ डिरेक्टरमार्फत सिनेमामा कलाकार छनोट गर्नुपर्छ भनेर सुरु गरेको । कथा अनुसार कुन कलाकार ठिक हुन्छ त्यसका लागि कास्टिङ डिरेक्टरले निर्णय गर्नुपर्छ भनेर यो अभ्यास उनैले सुरु गरेका हुन् ।

अहिले उनले डाइलग डिरेक्टर (डाइलग कोच)को अवधारणा अगाडि सारे । र त्यही अवधारणा अनुसार काम सुरु गरे । चलचित्र ‘गाउँ आएको बाटो’मा उनले कलाकारले कसरी डाइलग डेलिभर गर्ने, डाइलग बोलेको ठिक भइरहेको छ कि छैन, छैन भने कसरी करेक्सन गर्ने भनेर डाइलग कोच नै राखेर काम गराए ।

यही चलचित्रमा नवीनले अर्को प्रयोग पनि गरे । जुन हो, टेक्स्ट एनलाइसिस मेथोड । टेक्स्ट एनलाइसिस मेथोड भनेको टेक्स्टभित्र बसेर क्यारेक्टर खोज्ने तरिका हो । चरित्र खोज्न बजार वा गाउँगाउँ डुल्नु पर्दैन बुझ्ने हो भने स्क्रिप्ट भित्र नै चरित्र लुकेको हुन्छ । र त्यही स्क्रिप्टभित्रबाट चरित्र खोज्न सकेमात्रै कथाले मागे अनुसारको चरित्र निर्माण हुन्छ भन्ने हो ।

यही मेथोड प्रयोग गरेर ‘गाउँ आएको बाटो’मा कलाकारले चरित्र निर्माण गरेको नवीनले बताउँदै आएका छन् । नवीन सुब्बाले निर्देशन गरेको चलचित्र ‘गाउँ आएको बाटो’ यही जेठ २५ गते रिलिज हुँदैछ ।