‘ज्वाइँ साब’को ‘कसम बत्तीको’मा नीतिसँग भित्रिएका जितु

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएको छ। वसन्त निरौलाको निर्देशनमा बनेको यो चलचित्रको गीत बुधबार वान सिनेमाज् हलमा एक विशेष कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो।

फूलपातीको अवसरमा आगामी असोज २४ गतेदेखि रिलिज आउन लागेको चलचित्रको सार्वजनिक गीतमा निशान भट्टराई र समीक्षा अधिकारीको स्वर, यादव लम्सालको शब्द, अर्जुन पोखरेलको संगीत छ ।

रेड आई फिल्मस्को प्रस्तुतिमा र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको ‘ज्वाइँ साब’को गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू जितु नेपाल र नीति शाहले नृत्य गरेका छन् ।

यो गीतको भिडियो बिहेको परिवेशलाई समावेश गर्दै तयार पारिएको छ । हिन्दू परम्पराअनुसार विवाहपछि बेहुली केटाको घरमा भित्रिने चलन प्रचलित छ तर, ‘कसम बत्तीको’ गीतको भिडियो हेर्दा यस पुरानो परम्परालाई उल्ट्याएर कथामा नयाँ मोड दिएको छ।

भिडियो हेर्दै जाँदा यस्तो समेत देखाइएको छ कि, जुत्ता लुकाउने परम्पराअनुसार बेहुली पक्षले बेहुलाको जुत्ता लुकाउँछन्, र पैसा बेहुला पक्षले तिर्नुपर्ने हुन्छ। तर, यहाँ कथावस्तुमा एउटा अनौठो ट्विस्ट छ: जुत्ता लुकाएर प्राप्त भएको पैसा बेहुली नीतिले नै बेहुला पक्षलाई फिर्ता गर्छिन्।

अझ रोचक कुरा त यो छ कि सिनेमाको गीतमा बेहुला जितु डोली चढेर बेहुली नीतिको घर गएका छन्, जुन चलन हिन्दू परम्परामा बिरलै देख्न पाइन्छ। सामान्यतया, बेहुली डोली चढेर आफ्नो ससुराली जान्छिन्, तर यहाँ बेहुला नै बेहुलीको घर जाने चलन देखाइएको छ। यसले सिनेमाको कथालाई अनौठो, रोचक र नयाँ दिशामा धकेलेको छ, जसले गर्दा दर्शकहरूलाई यसमा नयाँपन महसुस हुनेछ। यही कारण दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने अनुमान लगाउन सकिन्छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको यो चलचित्रमा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ ।

राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको चलचित्रमा जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको छ भने साथमा बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे, दीपक अधिकारी, राजेन्द्र नेपाली, सिपी पौडेल, विश्व मुखिया, सुमन राई, रोशन नेपाल, सुनिल तामाङ, नवीन काफ्ले, शिवु पाण्डे लगायतका कलाकारहरूको अभिनय रहेको छ।

अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहेको चलचित्रमा सञ्जय थापाको एक्सन, श्याम तामाङको छायांकन, सन्देश शाहको सम्पादन छ ।